जिल्ला हुलाक कार्यालय,सिन्धुलीले मंसिरमा करिब सवा लाख भन्दा बढी राजश्व संकलन गरेको छ।मंसिर १ गतेदेखि मंसिर २९ गते सम्मको एक महिनाको अवधिमा जिल्ला हुलाक कार्यालय सिन्धुलीले पिट्स दर्ता वापत रु २५ हजार तीन सय १० र हुलाक टिकट वापत रु एक लाख तीन हजार चार सय ५० गरी कुल रु एक लाख २८ हजार सात सय ६० राजश्व संकलन गरेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार नौ वटा पालिका रहेको सिन्धुलीको भिमान काउण्टर सहित १० वटा हुलाक कार्यालयहरु रहेकामा जिल्ला हुलाक कार्यालय सहित भिमान काउण्टर,पालिका हुलाक कार्यालय दुधौली,मरिण र हरिहरपुरगढी गरी पाँच ठाउँबाट पिट्स सेवा सञ्चालन भई रहेको छ भने बाँकी रहेका पालिका हुलाक कार्यालय घ्याङ्लेक,सुनकोसी,गोलन्जोर,फिक्कल र तीनपाटनमा पिट्स सेवा सञ्चालन हुन बाँकी रहेको छ ।
जिल्ला हुलाक कार्यालय र मातहतका कार्यालयहरुबाट मंसिर महिनामा छ सय ९३ थान चिठिपत्र दर्ता,एक हजार ७४ थान अन्य हुलाकबाट रजिष्ट्री चिठिपत्र आयात,पाँच सय ८९ थान रजिष्ट्री चिठिपत्र वितरण,एक हजार एक सय २१ थान अन्य हुलाकमा रजिष्ट्री पत्र चलान ,तीन सय थान साधारण पत्र पत्रिका आयात,एक सय ९६ थान साधारण पत्र पत्रिका तथा चिठि निर्यात र एक सय ९९ थान साधारण पत्र पत्रिका तथा चिठि पत्र वितरण गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए । उनका अनुसार ३९ थान इ.एम.एस.आयात तथा वितरण,९५ थान साधारण चिठि पत्र आयात, सात वटा आन्तरिक पुलिन्दा आयात तथा वितरण,दुई थान राहदानी र एक थान वैदेशिक पुलिन्दा आयात तथा वितरण गरिएको छ।यता,सो अवधिमा लोककल्याणकारी विज्ञापन वापतको रकम रु चार लाख ३८ हजार पाँच सय ६६ भुक्तानी गरेको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।