सर्लाहीको लालबन्दी नगरस्तरीय आठौं वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि लालबन्दी नगरपालिका ११ ले हात पारेको छ।लालबन्दी नगरपालिका ११ हीरापुर र आयोजक लालबन्दी नगरपालिका १३ पत्थरकोट विच भएको फाईनल खेलमा लालबन्दी नगरपालिका ११ ले लालबन्दी नगरपालिका १३ लाई २–० गोलले पराजीत गर्दै उपाधि हात पारेको आयोजक लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष शिव कृष्ण वैद्यले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १३ पत्थरकोट स्थित लखन्देही खोला किनारमा रहेको चौरमा भएको फाईनल खेलमा लालबन्दी नगरपालिका ३ लाई पराजीत गर्दै लालबन्दी नगरपालिका ११ ले र लालबन्दी नगरपालिका १६ लाई पराजीत गर्दै लालबन्दी नगरपालिका १३ ले फाईनलको यात्रा तय गरेका थिए ।
प्रतियोगितामा विजेता भएको लालबन्दी नगरपालिका ११ ले रु एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपबिजेता बनेको लालबन्दी नगरपालिका १३ ले रु ५५ हजार पाँच सय ५५ सहित शिल्ड,मेडेल र प्रमाण–पत्र प्राप्त गरेका आयोजकले जनाएको छ।यस अघि नै तेस्रो भएको लालबन्दी नगरपालिका ३ रु ३३ हजार तीन सय ३३ सहित शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ।१७ वटा वडा रहेको लालबन्दी नगरपालिकाले हरेक वर्ष फरक फरक वडाहरुमा नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको लालबन्दी नगरपालिकाले जनाएको छ।कात्तिक १२ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।