Close This

बारा प्रहरीद्धारा एकैदिन तीन सय ३२ जना फरार प्रतिवादी पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-९ गते   ७६ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय बाराले एकै दिन तीन सय ३२ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत बाराको सजाय तोकेपछि फरार भएका तीन सय ३२ जना फरार प्रतिवादी पक्राउ गरेर अदालत बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार अदालतको फैसला पछि फरार भएका प्रतिवादीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालत बारामा आवश्यक कारवाहीको लागि बुझाएको हो । लामो समयदेखी अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
छ वर्ष पाँच महिना १० दिन कैद सजाय भएका कलैया उपमहानगरपालिका १ का विजय दास लगायत बैकिङ्ग कसूर मुद्दामा सात लाख जरिवाना सजाय भएका पचरौता नगरपालिका २ का एजाजुल हक अंसारी, हातहतियार खरखजाना मुद्दामा दुई वर्ष ११ महिना छ दिन कैद सजाय भएका निजगढ नगरपालिका १ का बासु चौधरी लगायत गरि तीन सय ३२ जना फरार प्रतिवादीलाईएकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका मध्ये ३६ जनालाई थुनुमा राख्न जिल्ला कारागार कार्यालय पर्सा पठाइएको र बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन । फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउन र अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय,जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा प्रहरीले फैसला कार्यावन्यनलाई अभियानको रूपमा संचालन गरि रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बोगटीले बताए । उनले यस प्रकारका कारवाहीका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech