सर्लाहीको बागमती नगरपालिका ११ स्थित कर्मैयामा रहेको आदर्श जनता क्याम्पस कर्मैयाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बागमती नगरपालिका ११ स्थित कर्मैयामा रहेको आदर्श जनता क्याम्पस कर्मैयाको नवनिर्मित भवन बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले उद्धघाटन गरेका हुन ।
विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त रु एक करोडको लागतमा निर्माण भएको १२ कोठे दुई तले भवनको बिहीबार उद्घाटन गरिएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । बीचमा केही समय बन्द नै भइसकेको क्याम्पसलाई आफूहरुले पुनः सञ्चालनमा ल्याएको उनको भनाई छ ।
क्याम्पसको स्नातक तहमा अहिले करिव एक सय जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस व्यावस्थापनले जनाएको छ । क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण भएपछि पठनपाठनमा थप सहजता भएको व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पुडासैनीले जानकारी दिए ।
वसन्त पञ्चमी(सरस्वती पूजा)को अवसर पारेर आयोजना गरिएको भवन उद्घाटन समारोहमा संविधान सभाका सदस्य नरेन्द्र साह,नगर प्रमुख थापा,नगर उप प्रमुख लिलाकुमारी मोक्तान, नगर शिक्षा समितिका संयोजक राजकुमार विश्वकर्मा,क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष रेवती पन्तलगायतको आतिथ्यता रहेको थियो ।