सिन्धुलीको तीनपाटन गाउँपालिकामा आर्थिक अराजकता बढ्दै गएको छ। तीनपाटन गाउँपालिका १ र तीनपाटन गाउँपालिका ६ ले आर्थिक वर्ष २०८१/०८२ मा संकलन गरिएको करिब रु चार लाख राजश्व नबुझाएका पाइएको छ।तीनपाटन गाउँपालिका १ ले रु एक लाख ६६ हजार र तीनपाटन गाउँपालिका ६ ले रु एक लाख ८९ हजार आर्थिक वर्ष २०८१/०८२ मा संकलन गरिएको राजश्व नबुझाएका पाइएको हो ।
तीनपाटन गाउँपाकिला १ ले आर्थिक वर्ष २०८१÷०८२ मा रु एक लाख ६६ हजार र त्यस अघिको दुई आर्थिक वर्षमा रु ४८ हजार गरी रु दुई लाख १४ हजार र तीन पाटन गाउँपाकिला ६ ले आर्थिक वर्ष २०८१/०८२ मा रु एक लाख ८९ हजार गरी कुल रु चार लाख तीन हजार राजस्व अहिलेसम्म दाखिला नगरेका तीनपाटन गाउँपालिकाको राजस्व शाखाले जनाएको छ। शाखाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा तीनपाटन गाउँपालिका १ ले रु पाँच लाख पाँच हजार आठ सय १४ र तीनपाटन गाउँपालिका ६ ले रु पाँच लाख तीन हजार तीन सय ११ राजस्व संकलन गरेका थिए ।
आर्थिक नियमावली अनुसार वडाबाट संकलित राजस्व हरेक दिन दाखिला गर्नुपर्छ।भौगोलिक कठिनाइका कारण कतिपय ठाउँमा महिनामा एक पटक राजश्व दाखिला गर्ने सुविधा दिइए पनि, यी वडाहरूले भने लगातार तीन÷ चार महिनासम्म पनि राजस्व नबुझाएका पाइएको छ। करदाताबाट कर उठाउने वडा सचिवले राजश्व रकम दैनिक गोजीमा हालेर जलपानमा खर्च गर्ने गरेको स्रोतले जनाएको छ। राजस्व बुझाउन गाउँपालिकाबाट पटक पटक ताकेता गर्दा समेत अटेर गर्ने गरेका समेत पाइएको छ ।
यता,सो सम्बन्धमा तीनपाटन गाउँपालिका १ का वडा अध्यक्ष गोविन्द बहादुर राउतसंग बुझ्दा वडा सचिव माधब प्रसाद काफ्लेले राजश्व नबुझाएको सत्य रहेको बताए।उनले आफुले पटक पटक गाउँपालिकामा पनि कुरा गरेको भएपनि गाउँपालिकाबाट समेत कुनै किसिमको सुनुवाई नभएको समेत बताए ।भने वडा सचिव काफ्लेले विविध कारणले आफुले राजश्व ढिलो गरेको स्वीकार गर्दै चाँडै बुझाउने बताए ।त्यस्तै,तीनपाटन गाउँपालिका ६ का वडा सचिव मोहन बहादुर बैजुसंग सो सम्बन्धमा बुझ्दा उनले विविध कारणले राजश्ज बुझाउन ढिला भएको र चाँडै बुझाउने बताए । उनले आफ्नो जागिरको सवाल भएकाले समाचार नलेखिदिन समेत आग्रह गरे ।