सर्लाहीमा भू–माफियाको बिगबिगी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१४ गते   ११२६ पटक हेरिएको


सर्लाहीको ईश्वरपुर नगरपालिका १२, कालिन्जोर घारिबथानका स्थानीय भू माफियाको सन्जाल आएर जग्गा हडप्न खोजेपछि एकजुट भएका छन् । गत आइतबार दिउँसो चिन्दै नचिनेका मानिसहरु आई आफूहरुको जग्गा नापचाँज गर्न थालेपछि स्थानीयले भू–माफिया गिरोहका सात जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा बुझाएका थिए । 
उनीहरुलाई कारवाहीको माग गर्दै इश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथानका करिब दुई सय जना स्थानीयले ईलाका प्रहरी कार्यालय घेराउ समेत गरेका थिए । आफूहरुले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेको जग्गा अपरिचित व्यक्तिहरु आएर नापजाँच गर्न थालेपछि त्रसित भएको इश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथानका स्थानीय राजु खड्काले गुनासो गरे । स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका सात जना व्यक्तिसँगै एउटा स्कारपियो,एउटा मोटरसाइकल,रु पाँच नगद र मोवाइल लगायतका सामग्री पनि रहेका ईलाका प्रहरी कार्यालय केशरगन्जले बताएको छ ।
ती व्यक्तिहरु आफूहरुसँग ६४ बिघा भन्दा बढी जग्गाको लालपूर्जा रहेको भन्दै जग्गा नापजाँच गर्न गाउँमा आएका इश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथानका वडाध्यक्ष देविबहादुर खत्रीले बताए । उनले गाउँलेले दशकौँ अघिदेखि भोगचलन गर्दै आइरहेको जग्गा आफूहरुको भन्दै अपरिचित व्यक्ति आएपछि अचम्मित भएको बताए । इश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथानका वडाध्यक्ष खत्रीले सो क्षेत्रको जग्गामा साबिक खयरमाराखोर भनी उल्लेख गरिएको बताए ।“यो जग्गा सरकारी रेकर्डमा कुन अवस्थामा छ ?भनी प्रष्ट भइसकेको छैन् ।” इश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथानका वडाध्यक्ष खत्रीले बताए ।
“यो घटनाबारे आफूलाई पनि मौखिक जानकारी आएको र स्थानीयलाई आफूसँग भएको कागजात लिएर कार्यालयमै आउन आफुले भनेको”मालपोत कार्यालय हरिवनका प्रमुख रमेशप्रसाद गौतमले बताए । इश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथान क्षेत्रको सो जग्गा नापीको टोली खटिँदा जग्गाधनी नखुलेकाले बे–निस्सा भनी उल्लेख गरिएको हुनसक्ने मालपोतका प्रमुख गौतमले बताए ।
यता,स्थानीयले पक्राउ गरी बुझाएका सात जना विरुद्ध म्याद थप गरी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले पक्राउ परेकाहरुसँग सोधपुछसँगै आफूहरुले समेत मालपोतमा जग्गाको रेकर्ड कस्तो छ ? भनी बुझ्नेकाम गर्ने बताए । उनले पक्राउ परेकाहरुले अन्य व्यक्तिको पनि नाम लिएकाले बुझ्ने काम भई रहेको छ । 
गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएकाहरुमा बाराको जितपुर सीमरा उपमहानगरपालिका ११ का उमाशङ्कर साह,विनय कुमार चौधरी र जितपुर सीमरा उपमहानगरपालिका १ का ज्ञानबहादुर लामिछाने,सिरहाको कर्जन्हा नगरपालिका १ का राहुलकुमार साह, धनुषाको मिथिला नगरपालिका–९, का जयकुमार ठाकुर र क्षीरेश्वरनाथ नगरपालिका ५ का विजयकुमार साह र महोत्तरीको मनरा सिस्वा नगरपालिका ४ का धीरेन्द्र झा रहेका प्रहरीले जनाएको छ ।
केही समयअघि जिल्लाको बागमती नगरपालिकास्थित शंकरपुर क्षेत्रमा पनि स्थानीयले वर्षौदेखि भोगचलन गर्दै आइरहेको जग्गा भू–माफियाको गिरोह आएर नापजाँच गर्न थालेपछि स्थानीय आन्दोलित भएका थिए । पछिल्लो समय जिल्लामा भू–माफियाहरु निकै सक्रिय रहेका छन् । उनीहरुले अर्कैको जग्गा हडप्ने,नक्कली मोही खडा गर्ने र सोझासिधा नागरिकलाई दुःख दिने काम गर्दै आइरहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech