सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न चारबाट वडाका अतिविपन्नका लागि निर्माण गरिएको आवाश हस्तान्तरण गरिएको छ । लालबन्दी नगरपालिकाका छ,सात,नौ र १७ नम्बर वडाका अतिविपन्नका लागि मधेश प्रदेश सरकारको लगानीमा निर्माण गरिएको आवाश हस्तान्तरण गरिएको हो ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्र नारायण निधी आवास योजनाबाट नगरका चारवटा वडाका अतिविपन्न चार परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा(ख) की प्रदेश सभा सदस्य बेची लुङ्गेलीले जानकारी दिईन् ।
उनका अनुसार लालबन्दी नगरपालिका ६ का वीरबहादुर क्याप्छाकी मगर,लालबन्दी नगरपालिका ७ का बिशे राई,लालबन्दी नगरपालिका ९ का शम्भु बलम्पाकी मगर र लालबन्दी नगरपालिका १७ का लक्ष्मी थापाको परिवारलाई पक्की घर हस्तान्तरण गरिएको हो ।
चार परिवारका लागि दुई कोठाको पक्की घर,किचेन,शौचालय निर्माण गरिएको र प्रत्येक घरमा चापाकल पनि निर्माण गरिने प्रदेशसभा सदस्य लुङ्गेलीले बताउनु भयो । एक परिवारका लागि रु पाँच लाख ५० हजार लागतमा घर निर्माण पूरा गरी हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था दयनीय रहेको तथा घाम,पानीमा ओत लाग्ने गतिलो घर नहुँदा कष्टपूर्ण जीवन निर्वाह गरिरहका आफुहरुले पक्की घर पाएपछि खुसी लागेको लालबन्दी नगरपालिका ६ का वीरबहादुरले बताए ।
पानी चुहिने झुप्रो घरमा बस्दै आएकोमा प्रदेशसभा सदस्य लुङ्गेलीको पहलबाट पक्की घर निर्माण भएपछि अत्यन्त खुसी लागेको लालबन्दी नगरपालिका ७ राईले बताए । महेन्द्र नारायण निधी आवास योजना अन्तर्गत दोस्रो चरणमा लालबन्दी नगरपालिका ५, ६ र १० मा थप तीन परिवारका लागि घर निर्माण गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य लुङ्गेलीले जानकारी दिईन् ।
अन्य निर्वाचन क्षेत्रमा घर निर्माण गर्ने योजना सम्पन्न नभए पनि आफ्नो निर्वाचन क्षेत्रमा पहिलो चरणमा चार परिवारका लागि घर निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको प्रदेशसभा सदस्य लुङ्गेलीको भनाई छ ।