Close This

राजर्षि जनक कपको पहिलो खेलमा ब्वाईज युनियन विजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२२ गते   ५६१ पटक हेरिएको

प्रदेश नम्बर २ कै सर्वाधिक धनराशीको फुटबल प्रतियोगीता चौथो राजर्षी जनक कप फुटबल प्रतियोगीताको उद्धघाटन समारोहमा नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठ फोटो रितिक अधिकारी

प्रदेश नम्बर २ कै शान राजा जनक प्रतिको सम्मान भन्ने मुल नाराका साथ सुरु भएको प्रदेश नम्बर २ कै सर्वाधिक धनराशीको फुटबल प्रतियोगीता राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत सर्लाहीको बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा विहिबार  भएको पहिलो खेलमा ब्वाईज युनियन क्लब काठमाडौं आयोजक बागमती युवा क्लब निलोलाई १–० गोलले पराजित गर्दै विजयी भएको हो । खेलको ६९औं मिनेटमा ब्वाईज युनियनका जर्सी नम्बर १० का सुशान्त लामाले डिबक्स भन्दा बाहिरबाट गरेको सशक्त प्रहारले सहजै बागमतीको गोलपोष्ट जाली चुम्यो । विपक्षी खेलाडीका आधा दर्जन सशक्त प्रहारहरु विफल बनाएका बागमतीका गोलकिपर कुशल गिरीले ब्वाईज युनियनका लामाले प्रहार गरेको बललाई रोक्नै सकेनन् । अन्ततः सोही गोल नै जीतका लागि निर्णायक बन्यो ।

निर्णायक गोल सहित जीत दिलाएका ब्वाईज युनियनका लामा म्याद अ दि म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि एवं एकजोर बुट समेत पाएका छन् । बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले म्यान अफ दि म्याच घोषित लामालाई नगद, ट्रफि र बुट प्रदान गरे । खेल अवधीभर बागमतीको तर्फबाट सशक्त गोलपोष्ट प्रहार नै हुन सकेन । ईन्जुरी टाईममा बागमतीले कर्नर प्रहार पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीको अवसरबाट चुक्यो । खेल अवधीभर ब्वाईज युनियनका खेलाडी मैदानमा हाबी भएका थिए ।

अब ब्वाईज युनियनको भेट नव जनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लबबिच हुने खेलको विजेता सँग आगामी फागुन २८ गते हुनेछ । आज अर्थात शुक्रबार भारतको  युनाईटेड फूटबल क्लब कुरसोङ र क्षमादेवि प्लानिङ ब्वाईज पेप्सीकोला काठमाडौं भिड्ने आयोजकले कमलामाई खबरलाई जानकारी गराएको  छ ।

चैत २ गते फाईनल खेल हुने प्रतियोगीतामा  दुई विदेशी क्लब सहित १२ वटा टिम सहभागि हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनु भयो।  यसअघि विहिबार दिउँसो एक समारोहबीच पूर्व उपप्रधानमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता  नारायणकाजी श्रेष्ठ(प्रकाश)ले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको विशिष्ट आतिथ्यता रहेको थियो । नेकपा केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्ले, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, नेकपाका अध्यक्ष रेवती पन्त, सचिव कमल बुढाथोकी, नेकपा रौतहटका अध्यक्ष शमिर भट्टराई लगायत अन्य विभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।फर्किएका छन् ।
प्रतियोगिताका विजेताले नगद १० लाख सहित प्रथम उपाधी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैंया प्राप्त गर्ने आयोजकले बताएको बागमतीबाट हाम्रा सहकर्मी रितिक अधिकारीले जानकारी दिनु भयो। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech