सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकालाई उच्च अदालत पाटनले शिक्षकलाई काजमा गाउँपालिकामा नै राखी काम लगाएको भन्दै कारण देखाई १५ दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ ।हरिहरपुरगढी गाउँपालिकाले कालिका प्रावि सिमरासमा कार्यरत प्राथमिक तहका राहत शिक्षक यम कुमार आछामीलाई अधिकृत पदमा र भानुभक्त आधारभूत विद्यालय तिनकुनामा प्राथमिक तहमा कार्यरत शिक्षक प्रेम वि.क.लाई सहायक अधिकृत पद सिर्जना गरी गाउँपालिकाको कार्यालयमा काम गर्नका लागि काजमा राखेकोले पाइएको भन्दै हरिहरपुरगढी गाउँपालिकालाई उच्च अदालतले कारण देखाई १५ दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ ।
शिक्षा ऐन,२०२८ को दफा १६ च २ विपरीतको कार्य गरेको भन्दै हरिहरपुरगढी गाउँपालिका ५ का निरबहादुर वाइवाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।उनले हरिहरपुरगढी गाउँपालिकालाई विपक्षी बनाई दर्ता गराएको रिटको सुनुवाई गर्दै अदालतका न्यायधिश टीकाराम आचार्यले यस्तो आदेश दिएका हुन ।
रिटको सुनुवाईका क्रममा बहस गरेका अधिबक्ता लोकहरी आचार्यले गाउँपालिकाले शिक्षकद्वय आछामी र वि.क.लाई शिक्षा ऐन,२०२८ को दफा १६च २ र शिक्षा नियमावली, २०५९ को नियम १३३(१) को खण्ड (ज) तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मिति २०८१।०१।२८ को पत्रको विपरीत हुने गरि काजमा काम गराएको पाइएको बताए । शिक्षा ऐनमा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू कार्यरत रहेको विद्यालय बाहिर कामकाज गर्न नहुने र शिक्षकलाई शिक्षण कार्य भन्दा अन्यत्र काजमा लगि काम लगाउन नपाउने कानूनी व्यवस्था रहेको छ ।
रिट निवेदकले गाउँपालिका सहित गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, हरिहरपुरगढी गाउँपालिका शिक्षा समिति,शिक्षक द्वय अछामी र वि.कलाई विपक्षी बनाइएको छ ।यस्तै गाउँपालिकाले कार्यालयमा काजमा ल्याई काम लगाइरहेका शिक्षकद्वय अछामी र वि.क जेष्ठता र तहगत ओहदामा समेत कनिष्ठ रहेका भन्दै अन्य बरिष्ठ पदमा कार्यरत शिक्षकहरुका संघ÷संगठनले विरोध समेत जनाएका थिए ।