रास्वपाका सभापति लामिछानेको आलोचना, आत्मालोचना गर्न पार्टीका नेताहरुको माग

1.1k Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभिव्यक्ति प्रति पार्टीका नेता कार्यकर्ताहरुले आलोचना गरेका छन् । सञ्चार माध्यमलाई लान्छित गर्दै पार्टी सभापति लामिछानेले दिएको अभिव्यक्ति प्रति पार्टी कै नेता तथा कार्यकर्ताहरु असन्तुष्ट बनेका हुन ।
आफूहरु पार्टीको सभापति लामिछानेले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले पार्टी सभापति लामिछानेले आत्मालोचना गर्नु पर्ने माग गरेका छन् ।

रास्वपाले आइतबार सरकार छाड्ने, तर समर्थन कायमै राख्ने निर्णय गरेको थियो । लगत्तै पार्टी कार्यालय,बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछाने सञ्चार माध्यममाथि खनिएका थिए । उपप्रधान तथा गृहमन्त्री र सांसद गुमेपछि आफू आक्रोशित भएको स्वीकार गरेका सभापति लामिछानेले ‘मुडमा छु है’ भन्दै सञ्चार माध्यम र विभिन्न व्यक्रिको जीवनमा प्रवेश गर्दै लाञ्छना लगाएका थिए ।
सोमबारको बैठकमा नेताहरुले पार्टी सभापति लामिछानेको आलोचना गरे । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले सभापति लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले सार्वजनिक वृत्तमा राम्रो सन्देश नगएको बताएका थिए ।
प्रमुख सचेतक सन्तोष परियारले ‘तपाईँले दिएको अभिव्यक्तिले पार्टीलाई घाटा भयो,आत्मालोचना गर्नुस्’भनेका थिए । अर्का सांसद गणेश पराजुलीले पार्टीप्रति बुद्धिजिवी वर्गलाई चिढाउने काम मात्र भएको बताए ।उनले भनेका थिए, ‘तपाईँँको अभिव्यक्तिले हामीप्रति उनीहरु निराश भए । यसले गलत सन्देश गएको छ ।’
सांसद मनिष झाले गृहमन्त्री नपाएकै कारण सरकार छाडेको भनेर सन्देश जानु पार्टीको पनि कमजोरी भएको बताएका छन् । आइतबार पार्टी सभापति लामिछानेले आफूले गृहमन्त्री बन्न खोजेको, तर नभई हुन्न भनेर नभनेको जिकिर गरेका थिए । उनले भनेका थिए, ‘यही कुरा २र३ दिन अगाडि भनेको भए गृह नपाएर सरकारबाट बाहिरियो भन्ने सन्देश जाँदैनथ्यो । यसमा चुक भयो ।’
एक सहभागीका अनुसार महामन्त्री एवम प्रवक्ता मुकुल ढकालले भने सभापति लामिछानेको बचाउ गरेका थिए । गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने र पाएको भए कसलाई पठाउने भनेर पार्टीले निर्णय गर्ने उनको तर्क थियो ।बैठकमा सभापति लामिछानेले रिस धेरै उठेकाले बोलेको बताएका थिए । यसले भएको क्षति न्यूनिकरण गर्न के गर्ने त भनेर समेत उनले प्रश्न गरेको एक नेताले बताए । उनले भने, ‘१र२ दिन हेरौं,त्यसपछि तपाईँले हिजोको जस्तै पत्रकार सम्मेलन गरेर हुन्छ कि विज्ञप्तिमार्फत हुन्छ आफ्नो वक्तव्य दिनुस भनेका छौं । उहाँले केही सोची रहनु भएको छहोला उनले भने ।

सम्बन्धित समाचार