Close This

सर्लाहीमा दैनिक करिब दुई सय नागरिकता जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२७ गते   २६८ पटक हेरिएको


जिल्ला प्रशासन कार्यालय सर्लाहीले दैनिक करिब दुई सय वटा नागरिकता जारी गर्ने गरेको छ । दुई वटा ईलाका प्रशासन कार्यालय र एउटा जिल्ला प्रशासन कार्यालय गरी तीन स्थानबाट दैनिक करिब दुई सय नागकिता जारी गर्ने गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 
उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट करिब एक सय र ईलाका प्रशासन कार्यालय हरिवनले करिब ५० र ईलाका प्रशासन कार्यालय बरहथवाले करिब ५० गरी जिल्लामा दैनिक करिब दुई सय नागरिकता दैनिक जारी हुने गरेका छन् ।
“जिल्ल स्थित रहेका जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरुमा प्रशासकीय अधिकृतको अभाव हुँदा पनि दैनिक करिब दुई सय नागरिकता जारी हुने गरेको र प्रशासकीय अधिकृत लगायत आवश्यक अन्य जनशक्ति हुँदा करिब चारसय नागरिकता जारी गर्न सकिन्थ्यो ।”सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाही र ईलाका प्रशासन कार्यालयहरुमा प्रशासकीय अधिकृत अभाव हुँदा नागरिकलाई निकै सास्ती भएको छ भने कार्यालयलाई निकै चाप बढेको छ ।
“जिल्ला प्रशासन कार्यालय सहित दुई वटा ईलाका प्रशासन कार्यालयमा नै प्रशासकीय अधिकृत अभाव छ । म सर्लाही आए लगतै माथिल्लो निकायलाई लेखि पठाउने काम गरेको छु । जवाफ आउँछ की कर्माचारी आउँछन् । पछि थाहा होला ।”प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा तीन जना प्रशासकीय अधिकृतको दरबन्दी भएपनि अहिले  दुई जना प्रशासकीय अधिकृत मात्र कार्यरत रहनु भएका कार्यालयले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी गर्नेदेखि अन्य काममा समेत प्रशासकीय अधिकृत राजकुमार थापा एक जना मात्रै कार्यरत रहँदा सेवा प्रभावमा समस्या भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । जसका कारण कार्यालयको काम प्रभावित भएपछि इलाका प्रशासन कार्यालय हरिवनका कार्यरत प्रशासकीय अधिकृत गुणराज भुजेललाई जिल्ला प्रशासन कार्यालयमा काजमा खटाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।
दुई जना प्रशासकीय अधिकृतमध्ये थापा पनि गएको शुक्रबारदेखि एक साताका लागि बिदामा रहँदा इलाका प्रशासन कार्यालय हरिवनका कार्यरत प्रशासकीय अधिकृत भुजेललाई जिल्ला प्रशासन कार्यालयमा काजमा खटाउनु परेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
अहिले जिल्ला प्रशासन कार्यालयमा अधिकृत भुजेल एक जना मात्रै कार्यरत रहनु भएको छ । तीन जना प्रशासकीय अधिकृत हुँदा समेत नागरिकता,राहदानी,राष्ट्रिय परिचय–पत्रलगायतका काममा भ्याइनभ्याइ हुने गरेको कार्यालयमा अहिले एक जना मात्रै अधिकृत कार्यरत हुँदा सेवा प्रवाहमा निकै समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यता,सेवा लिन घण्टौं लाइनमा बस्नुपर्दा सेवाग्राहीहरु थप झन्झट बेहोर्न बाध्य भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech