Close This

सासापुर स्वास्थ्य चौकीमा प्रत्येक महिना विशेषज्ञ निःशुल्क सेवा सुरु,लालबन्दी मै पोष्टमार्टम गरिने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-६ गते   २१७ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी


सर्लाहीको हरिवन नगरपालिका ४,स्थित रहेको सासापुर स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न सुरु भएको छ । हरिवन नगरपालिका ४,स्थित रहेको सासापुर स्वास्थ्य चौकीमा प्रत्येक महिनाको एक दिन निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न सुरु भएको हो ।
शनिबार पहिलो पटक दिर्घायु गुरु अस्पताल चाबहिल,काठमाडौँबाट आएका फिजिसियन तथा बाथरोग विशेषज्ञ डा.नरेन्द्रप्रसाद मैनालीबाट निःशुल्क सेवा सुरु गरिएको हरिवन नगरपालिकाको नगर स्वास्थ्य शाखाले जनाएको छ । अब प्रत्येक महिनाको पहिलो आइतबार यसरी विशेषज्ञ चिकित्सक ल्याएर नगरवासीलाई निःशुल्क औषधि उपचार गर्ने अभियान सुरु गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।
नगर अस्पतालको रुपमा विकास गरिँदै लगिएको सासापुर स्वास्थ्य चौकीमा एक महिनामा एक पटक एक जना विशेषज्ञ चिकित्सक अनिवार्य र त्यसको अलवा कम्तीमा पनि तीन महिनामा अरु विशेषज्ञ चिकित्सक पनि ल्याउनका लागि नगर प्रमुख बुढाथोकीले पहल गरिरहेका  स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताए । शनिबार पहिलो पटक महिनाको पहिलो शनिबार निःशुल्क विशेषज्ञ सेवा प्रदान गरिए पनि चैतदेखि भने पहिलो आइतबार डाक्टर बोलाइने स्वास्थ्य शाखाका संयोजक चौधरीले बताए ।
शनिबार पहिलो दिन डा.मैनालीबाट ३७ जना पुरुष र ४३ जना महिला गरी ८० जनाले सेवा लिएका छन् । उनीहरुले ल्याब बाहेक उपचार र औषधी सेवा निःशुल्क पाएका स्वास्थ्य चौकीले जनाएको छ । 
प्रा.स्वा.के लालबन्दी मै पोष्टमार्टम हुने


लालबन्दी नगरपालिकाले पनि प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा यहि १० गतेबाट दैनिक दुई घण्टा विशेषज्ञ चिकित्सकले सेवा दिने व्यावस्थाको सुरुवात गर्ने भएको छ । अहिलेलाई दिनको दुई घण्टा र विस्तारै कार्यालय समयावधि भरी नै विशेषज्ञ चिकित्सकको व्यावस्था गरिने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
लालबन्दी नगरपालिका ९ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा केही समयपछि पोष्टमार्टम सेवाका साथै महिला तथा पुरुषहरुको परिवार नियोजनाको स्थायी सेवा समेत प्रदान गर्ने गरि तयारी गरि रहेको लालबन्दी नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी  दिए ।
उनका अनुसार पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा जानु पर्ने र समस्या पनि उतिकै रहेको स्थानीय नगरबासीबाट गुनासो आएपछि प्रादेशिक अस्पताल बाहिर पहिलो पटक पोष्टमार्टम सेवा सञ्चालन गर्न लागिएको हो । जसका लागि नगरपालिकाले एकजना चिकित्सकलाई पोष्टमार्टमको तालिमका लागि पठाउने समेत तयारी गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech