दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिकामा फनपार्क निर्माण कार्य तिब्रगतिमा भईरहेको छ । बागमती नगरपालिकाले नगर फनपार्क निर्माणको लागि करिब पाँच बिगाहा जमिनको व्यवस्थापन गरि सुरु गरेको फन पार्क निर्माणको अन्तीम चरणमा पुगेको हो ।
दक्षिण यसियाकै ठुलो मानव निर्मित बागमती माछा पोखरी(भरत ताल)निर्माणाधिन अवस्थामा राखेको नगरपालिकाले नगर बगैचा पनि निर्माण गरेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।उनका अनुसार नगरपालिकाको वडा नम्बर ११ स्थित पुर्व पश्चिम लोकमार्गबाट फनपार्कसम्म पुग्ने सडक पनि निर्माण गरिएको छ ।
चालू आर्थिक वर्ष २०७९/०८० मा फनपार्क पनि निर्माण गरि सक्ने लक्ष्यका साथ तिब्रगतिमा काम भई रहेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माणको काम नगरपालिकाले तिब्रगतिमा अगाडी बढाएको हो ।
चुरे पहाडको फेंदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्क निर्माण तिब्रगतिमा भएपछि व्यावसायीहरुको नजर पनि सो फनपार्क निर्माणस्थल तर्फ पुगेको छ । जहाँ निजि क्षेत्रबाट पनि रिसोर्ट निर्माणको काम शुरु भएको बागमती नगरपालिका ११ का वडा अध्इक्ष प्रदिप आचार्यले बताए ।उनका अनुसार बागमती नदीको किनारमा शान्त ठाउँमा फनपार्कको निर्माण भइरहेकोले वर्षेनी लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने र नगरको आन्तरिक आयस्रोत पनि बढ्ने नगरले अपेक्षा गरेको छ ।
फनपार्क भन्दा पश्चिम छिमेकी जिल्ला रौतहटको पर्यटकिय क्षेत्र नुनथर रहेको र नुनथरमा वर्षेनी लाखौँ पर्यटक आउने गरेकाले नेपाल र भारतका पर्यटकलाई सुविधा सम्पन्न फनपार्क उपलब्ध गराउँदा झन् धेरै पर्यटक आकर्षण हुने विश्वास आफूहरुले लिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोख्रेलले बताए ।उनका अनुसार नगरपालिकाले निर्माण गरिरहेको फनपार्क क्षेत्रमा केही बस्ती पनि रहेकोले सबैलाई उचित व्यवस्थापनको काम समेत भई रहेको छ ।
सबैलाई व्यवस्थापन गर्दै फनपार्क निर्माणको काम भईरहेको र काम गर्ने क्रममा देखिएका बाधा अड्चनहरुलाई पनि हटाउँदै आगामी एक वर्षमा फनपार्क पूर्ण रुपमा निर्माण भई सक्ने बागमती नगरपालिकाले जनाएको छ ।
फनपार्कबाट बागमती माछा पोखरी(भरत ताल)सम्म केबलकार चलाउने र फनपार्क भन्दा माथि चुरेको डाँडामा गौतम बुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसंग जोडिएको नगर प्रमुख थापाले जानकारी दिए । उनका अनुसार फनपार्क निर्माणपछि हजारौँले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने छन् । फनपार्कको निर्माणले रौतहटको नुनथरको पनि पर्यटनमा टेवा पुग्ने विश्वास बागमती नगरपालिकाले लिएको छ ।