रमेश अधिकारी(रितिक)
सर्लाहीमा चन्द्रनगर गाउँपालिकाले सुरुगरेको डिजिटल हाजिरी मेसिन प्रयोग गर्न गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरुले अटेरी गरेका छन् । चन्द्रनगर गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालय र पालिका मातहतका सरकारी कार्यालयहरुमा धमाधम डिजिटल हाजिरी मेसिन जडान भइरहेको भएपनि गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरुले अटेरी गरेका पाइएको हो ।
चन्द्रनगर गाउँपालिकाले फागुन १ गतेबाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुका साथै पालिका मातहत रहेका सरकारी कार्यालयहरुमा धमाधम डिजिटल हाजिरी मोसिन जडान गरि डिजिटल हाजिरी सुरु गरेको भएपनि पालिका भित्रका सामुदायिक विद्यालयहरुका शिक्षक–शिक्षिकाहरुले डिजिटल हाजिरी गर्न अटेरी गरेका गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
कतिपय विद्यालयका प्रधानाध्यापकहरुले डिजिटल हाजिरी मेसिन जडान गर्न समेत नदिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । उनका अनुसार पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु र सरकारी कार्यालयहरुका कर्मचारीहरु नियमित नआउने,आएको दिन पनि हाजिरी मात्रै गरेर हिँड्ने, नआएको दिनको समेत हाजिरी गर्ने गरेको पाइएपछि गाउँपालिकाले डिजिटल हाजिरी मेसिन प्रयोगमा ल्याउने निर्णय गरेको थियो । गाउँपालिकाले फागुन १ गतेबाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुका साथै पालिका मातहतका सरकारी कार्यालयहरुमा डिजिटल हाजिरीमेसिन जडानसुरु गरेको थियो । पालिका भित्र रहेका २२ सामुदायिक विद्यालयहरु मध्ये १८ वटा सामुदायिक विद्यालयहरुमा मेसिन जडान गरिएको छ । केही विद्यालयले प्रयोगमा ल्याएको भए पनि अधिकांश सामुदायिक विद्यालयहरुले डिजिटल हाजिरी मेसिन जडान गर्न आलटाल गर्दै आएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले जानकारी दिए । उनका अनुसार आइतबार चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १,३ र ४ मा रहेका चारवटा विद्यालयहरुमा पुग्दा डिजिटल हाजिरी मेसिन प्रयोग नगरेको पाइएको हो ।
चन्दनगर गाउँपालिका ३ मा रहेको श्रीराम जनता निम्न माध्यमिक विद्यालय बडकुर्वा र ज्ञानज्योति प्राथमिक विद्यालय गेरुकाटोल,चन्द्रनगर ४ मा रहेको शंकरसिंह चन्द्रावती प्राथमिक विद्यालय गढाटोल र चन्द्रनगर १ मा रहेको जनता प्राथमिक विद्यालय रतनपुरले डिजिटल हाजिरी चालू गर्न अटेर गरेका गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । बडकुर्वाका प्रधानाध्यापक सरोज सिंह,गेरुकाटोलका प्रधानाध्यापक मोहन साह,गढाटोलकी प्रधानाध्यापक सुशीला सिंह र रतनपुरका प्रधानाध्यापक राम रायले विद्यालयमा डिजिटल हाजिरी मेसिन राख्नै नदिएको गाउँपालिका कार्यालयले जनाएको छ । उनीहरूले विभिन्न बहाना बनाएर मेसिन प्रयोग नगर्ने भन्दै विद्यालय परिसरमा मेसिन राख्न नदिएपछि प्राविधिक टोली त्यसै फर्किएको पालिका अध्यक्ष महतोले जानकारी दिए ।
बडकुर्वाका प्रधानाध्यापक सिंहले आफू विभिन्न काममा बाहिर जानुपर्ने र ढिला हुँदा हाजिरी नहुने भएकाले डिजिटल हाजिरी मेसिन प्रयोग गर्न नसकिने बताए ।मेसिन जडानअघि पालिकाले महसुल तिरिदिने गरी विद्युत् मिटर जोडिदिनुपर्ने उनको अडान छ ।त्यो विद्यालयले यसअघि विद्युत् चोरी गरी इन्टरनेट र अन्य विद्युतीय उपकरण चलाउँदै आएको छ । नेपाल शिक्षक संघका प्रतिनिधिसमेत रहेका प्रधानाध्यापक सिंह पालिकाले डिजिटल हाजिरी मेसिन प्रयोगमा ल्याउन लागेको भन्दै शिक्षकको टोली नै लिएर पालिकामा ज्ञापनपत्र बुझाउन पुगेका थिए । पालिकाले आफूहरूलाई कुनै निर्देशन दिन नसक्ने उनको तर्क छ ।
शिक्षक–शिक्षिका समयमा नआउने,शिक्षक तथा कर्मचारी पूरा समयसम्म विद्यालयमा नबस्नेजस्ता अनेक गुनासो आउन थालेपछि विद्युतीय हाजिरी मेसिनको प्रयोग गर्नुपरेको पालिका प्रमुख महतोले बताए ।जनताको करबाट तलब र अन्य सेवा–सुविधा लिने जनप्रतिनिधि,कर्मचारी र शिक्षक पूर्ण समय कार्यालयमा बसेर काम गर्नपर्ने गाउँपालिका अध्यक्ष महतोले बताए । महतोले गाउँपालिकाको निर्णयअनुसार डिजिटल हाजिरी प्रयोग गर्न अस्वीकार गर्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
श्रीराम जनता निमावि बडकुर्वाका प्रधानाध्यापक सिंहले विद्यालयमा डिजिटल हाजिर जडान भए पनि प्रयोगमा नल्याएको स्वीकार गरे । उक्त मेसिन चलाउँदा उठ्ने विद्युत् महसुल बुझाउन विद्यालयसँग कुनै आयस्रोत नरहेकाले प्रयोगमा नल्याएको उनको तर्क छ । डिजिटल हाजिरी मेसिन जडान नगर्ने चारवटै विद्यालयका प्रधानाध्यापकहरुले एउटै स्वरमा आफुहरु डिजिटल हाजिरी मेसिन जडान नगर्ने बताएका छन् । विद्यालयको कुनै आयस्रोत नभएकाले बिजुली महसुल गाउँपालिकाले तिरिदिनुपर्ने शिक्षकहरुको माग छ ।