शंखर पहाडी(गौरब)
सर्लाहीका दुई स्थानीय तहमा फनपार्क निर्माणाधिन अवस्थामा रहेको छ । जिल्लाको बागमती नगरपालिका ११ र हरिवन नगरपालिका १ गरी दुई स्थानीय तहमा फनपार्क निर्माणधिन अवस्थामा रहेको हो । सर्लाहीको बागमती नगरपालिका ११ मा बागमती नगरपालिकाको लगानीमा फनपार्क निर्माणाधिन अवस्थामा रहेको छ ।
पूर्व–पश्चिम राजमार्गबाट फनपार्कसम्म पुग्ने सडकको पनि व्यवस्थापन भइसकेको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए ।उनका अनुसार आर्थिक वर्ष २०७८÷०७९ बाट फनपार्क निर्माण सुरु गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ । चुरे पहाडको फेंदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्कको निर्माण सुरु भएसँगै व्यवसायीको नजर पनि सो फनपार्क निर्माणस्थलतर्फ पुगेको छ । त्यहाँ निजी क्षेत्रबाट पनि रिसोर्ट निर्माणको काम सुरु भएको छ।
बागमती नदीको किनारमा शान्त ठाउँमा फनपार्कको निर्माण भइरहेकाले वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने लक्ष्य लिइएको बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले बताईन् ।उनका अनुसार फनपार्कभन्दा छिमेकी जिल्ला रौतहटको पर्यटकीय क्षेत्र नूनथर नजिकै रहेको र नूनथरमा वर्षेनि लाखौँ पर्यटक आउने गरेकाले नेपाल र भारतका पर्यटकलाई सुविधा सम्पन्न फनपार्क उपलब्ध गराउँदा झन् धेरै पर्यटकको आकर्षण हुने नगरपालिकाले विश्वास आफूहरुले लिएको छ ।
फनपार्क निर्माणपछि हजारौंले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने जनाउँदै नगर प्रमुख थापाले फनपार्कबाट भरत तालसम्म केबलकार चलाउने र फनपार्क भन्दामाथि चुरेको डाँडामा गौतमबुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसँग जोडिएका बताए ।उनका अनुसार करिब रु ४० करोडमा फनपार्क निर्माण हुने छ । धुलिखेल निर्माण सेवा प्रा.लिले फनपार्क निर्माण गरि रहेको छ ।
त्यस्तै,हरिवन नगरपालिका १ स्थित धार्मीक पर्यटकिय स्थल कैलाशपुरी नजिकै फनपार्क निर्माणको काम सुरु गरेको छ । संघीय सरकार र नगरपालिकाको समन्वयमा हरिवन नगरपालिका १ मा फनपार्क निर्माण सुरु गरिएको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।उनका अनुसार पूर्व–पश्चिम राजमार्गबाट करिब तीन किलोमिटरको दुरीमा रहेको धार्मिक पर्यटकिय स्थल कैलाशपुरी नजिकै फनपार्क निर्मााणको काम सुरु भएको हो । फनपार्कमा ठूलो कदको बुद्घको मूर्ति स्थापना समेत गरिने नगर प्रमुख बुढाथोकीले बताए । फनपार्कमा वनभोजस्थल,सेल्फीसेट,जङ्गल पुल तथा चमेना गृह समेत निर्माणाधिन अवस्थामा रहेको हरिवन नगरपालिकाले जनाएको छ ।
अन्दाजी रु चार करोड ९७ लाखको लागतमा फनपार्क निर्माण सुरु भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार’पर्यटन मन्त्रालयले ६५ प्रतिशत र हरिवन नगरपालिकाले ३५ प्रतिशत रकम बेहोर्ने गरि फनपार्कको निर्माण सुरु गरिएको हो ।साथै अपुग रकम रकम नगरपालिकाले विनियोजन गर्ने उनले बताए । दुई वर्षभित्र निर्माण सम्पन्न हुने फनपार्क निर्माणको ठेक्का गोपिनीगङ्गा कन्स्ट्रक्सन,काठमाडौँले लिएको छ ।