दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिका १ मा रहेको वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बागमती नगरपालिका १,स्थित खानेपानीको कार्यालय परिसरमा संस्थाका अध्यक्ष वसन्त भट्टराईको अध्यक्षता तथा रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा खानेपानीको साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले बागमती नगरपालिका १, २ र ३ मा गरिकरिब एक हजार आठ सय घरधुरीलाई पानी वितरण गर्दै आइरहेको छ । संस्थाले साधारण सभाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ । संस्थाले कार्यक्रमका प्रमुख अतिथि एवम रक्षा मन्त्री उप्रेती र प्रतिनिधि सभाकी सदस्य सरस्वती सुब्बालाई कदर–पत्र र दोसल्लाले सम्मान गरेको संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि एवम सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क)का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह,बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी,बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तान,बागमती नगरपालिका १ का वडा अध्यक्ष गम्भीरसिंह पाख्रिन,बागमती नगरपालिका २ का वडा अध्यक्ष टेकबहादुर बल र बागमती नगरपालिका ३ का वडा अध्यक्ष तिलक मोक्तानलाई समेत कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको संस्थाले जनाएको छ ।
संस्थालाई जग्गा उपलब्ध गराएका जग्गादाता स्व.नरसिंह बहादुर थापा,नरबहादुर भण्डारी र अष्ट कुमार श्रेष्ठको परिवारलाई समेत सम्मान गरेको संस्थाका अध्यक्ष भट्टाराईले बताए ।
साधारण सभामा खानेपानी संस्थाले गत आर्थिक बर्ष २०७८÷०७९ मा रु दुई करोड १४ लाख ८३ हजार नौ सय १९ रुपैया ४८ पैसा बराबरको आय÷व्याय प्रस्तुत गरेको छ ।
यसैगरी विद्यालय,मठ,मन्दिर तथा स्वास्थ्य संस्थाहरुले चैत मसान्त सम्म बक्यौता बापतको रकम भुक्तानी गरेमा बैशाखबाट प्रति महिना रु १० हजार लिटर पानी निःशुल्क उपभोग गर्न दिने प्रस्ताव साधारण सभाबाट अनुमोदन गरेको संस्थाले जनाएको छ ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र) बागमती नगर कमिटिका अध्यक्ष कुमार तुम्सिङ मगर,नेकपा(एमाले)जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेल,नेपाली कांग्रेसका नेता दीपककुमार राणाभाट, कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समिति बागमती ११ का अध्यक्ष हरिराम काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।