दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिवन नगरपालिका ९ स्थित रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा व्यवस्थापन समितिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित गरेको सूचना निकालेपछि विभिन्न विद्यार्थी संगठन आन्दोलित भएका छन् ।
त्रिभुवन विश्वविद्यालय (टियू) ले आगामी चैत ५ गते देशभरका क्याम्पसमा एकसाथ स्ववियु चुनाव तोकेको भएपनि चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी क्याम्पसले चुनाव स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका हुन् ।
तोकिएकै मितिमा स्ववियु चुनाव गराउन माग गर्दै ४ वटा विद्यार्थी संगठनले आइतबार बिहान केहीसमय सुखेपोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर चक्काजाम गरेका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी(नेविसंघ),नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्वीयु क्रान्तिकारी),नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्वीयु एस) र जनता समाजवादी पार्टी(जसपा)नेपाल निकट विद्यार्थी संगठन र संघीय समाजवादी पार्टी निकट विद्यार्थी संगठनले राजमार्गमा चक्काजाम गर्दै स्ववियु निर्वाचनको माग राखेका हुन् ।
आफू अनुकुल फर्जी विद्यार्थी भर्ना गर्न नपाउँदा केही व्यक्तिले स्ववियु चुनाव भाँड्न खोजेको आन्दोलनरत विद्यार्थी नेताहरुको भनाई छ ।अनेरास्ववियु (एस) का अध्यक्ष दाहालसहित,अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष गौतम महतो, नेविसंघ क्याम्पस समितिका सभापति विष्णु मैनाली र संघीय समाजवादी पार्टी क्याम्पस कमिटीकी अध्यक्ष अन्जिता भुजेलले शनिबार नै प्रेस विज्ञप्ती नै निकालेर विद्यार्थीको नैसर्गिक अधिकार हनन भएको भन्दै तुरुन्त क्याम्पस व्यवस्थापन समितिको निर्णय सच्याई स्ववियु चुनावको वातावरण सिर्जना गर्न माग गरेका थिए ।