Close This

सफल महिला व्यासवायीको सहयात्री चमेली सहकारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-३ गते   १०६ पटक हेरिएको

शंखर पहाडी(गौरब)
सर्लाहीको चन्द्रनगर गाउँपलिका ४ पोखरियाकी रामवत्ती राय(दनुवार)ले करिब तीन बिघा जमिनमा माछापालन गर्नु भएको छ । साविकको मोहनपुर गा.वि.स २ हालको चन्द्रनगर गाउँपलिका ४ पोखरियाकी रामवतीले करिब दुई बिघा आफ्नो जमिन र करिब एक बिघा ठेक्कामा लिएको जमिन गरि करिब तीन बिघा जमिनमा व्यावसायीक रुपमा गर्नुभएको माछा पालनका लागि एक जनालाई रोजगार समेत दिनु भएको छ ।
सुरुसुरुको व्यावसाय भएकाले एक जना मजदुर सहित आफु लागि परेर आफ्नो व्यावसायलाई मधेश प्रदेश कै नमुना माछा फर्मको रुपमा विकास गर्ने योजना बनाएको रामवतीले बताउनु भयो । चन्द्रनगर गाउँपालिका ४ को एक सामान्य परिवारमा जन्मीनु भएकी रामवतीको ११ वर्षको उमेर हुँदा चन्द्रनगर गाउँपलिका ४ पोखरिया कै सत्य नारायण सिंहसंग बिबाह भयो । सानै उमेरमा कक्षा ३ मा पढ्दै गर्दा ११ वर्षको उमेरमा आफ्नो संस्कार रपरम्परा अनुसार बिवाह भएको रामवतीले बताउनुभयो ।
सानै उमेरमा बिबाह भएपछि  पढन नपाउनु भएकी रामवतीका श्रीमानको विगत करिब १७ वर्ष पहिला निधन भयो । श्रीमान् नहुँदाको पिडा र उता बच्चाहरुको पढाई लेखाई गर्न, हुर्काउन,बढाउन धेरै कठिनाई भेगेको रामवतीको गुनासो छ ।
यसरी समस्यै समस्याको बिचमा चमेली बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुसंग भेटघाट हुँदा आफ्नो गाउँमा पनि समुह बनाई ऋण लगानी गर्न रामवतीले अनुरोध गर्नुभयो । त्यसपछि २०६९ मा समुहमा आबद्ध भई कारोबार शुरुवात गर्नुभएकी रामवतीले चमेली बचत तथा ऋण सहकारी संस्थाबाट रु.१० हजार ऋण लिएर माछा पालन सुरु गर्नुभयो ।त्यसपछि पटक पटक गरि रु १२ लाख ७५ हजार ऋण लिएर माछापालन व्यवसायमै लगानी गर्नु भएकी रामवतीको अहिले करिब रु ४० लाखको माछा फर्म भएको छ ।
उहाँले आफुले तन,मन र धन लगाएर माछामा लगानी गरेको र आफ्नो पोखरीमा उत्पादन भएको माछा स्थानीय ठेकेदारहरुका साथै व्यापारीहरुले पोखरी मै आएर लैजाने गरेका उहाँको भनाई छ ।पोखरीमा माछा राम्रो उत्पादन भएको र आफुले गरेको मेहनतका साथै लगानीले एकै सिजनमा  मजदुरको खर्च,माछाको दाना,औषधी लगायतका अन्य सम्पुर्ण खर्च गर्न पुग्ने र बाँकी सिजनको आफ्नो कमाई हुने गरेका सुनाउनुभयो ।
रामवतीले अहिले वार्षिक करिब रु १० लाख सम्म माछा बेचेर आम्दानी गर्ने गरेको बताउनुभयो । आफ्नो माछा पालना व्यावसायबाट रामवतीले सहकारीको ऋणको किस्ता तिरे आफ्नो घर व्यवहार राम्रोसंग चलाउनु भएको छ ।
आफ्नो माछा पालनाको कमाईबाट जेठो छोरोलाई पि.एच.डी.,कान्छो छोरो बि.ए. र छोरीलाई प्लस टु सम्मको अध्ययन गराई रु १० लाख सम्म खर्च गरी आफ्नी छोरीको बिबाह समेत गरिसक्नु भएकी  रामवतीको अनुहारमा अहिले खुशी छाएको छ ।
यता,चन्द्रनगर गाउँपालिका ५ मोहनपुरकी  सुनिता कुमारी सिंहले पनि चमेली बचत तथा ऋण सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर शितल पाउरोटी बिस्कुट उद्योग सञ्चालन गर्नु भएको छ । आफुले सहकारीबाट रु २० हजार ऋण लिएर सुरु गरेको  पाउरोटी उद्योगबाट अहिले मासिक रु तीन लाख ५० हजार सम्म आम्दानी हुने गरेको सुनिताको भनाई छ । सामान्य परिवारीकी सुनिताले पाउरोटी उद्योगबाट भएको आम्दानीले अहिले गाउँमै घडेरी किन्नु भएको छ । भने उहाँले पाँच जना मजदुरलाई रोजगारी दिनुभएको छ ।
सहकारीबाट लिएको ऋण सही ठाउँमा लगानी गर्दा बिपन्न मजदुर परिवारबाट क्रमस निम्न मध्यम वर्गिय व्यवसायीको रुपमा अगाडि आउन सकिने रहेछ भन्ने लागेको सुनिताले बताउनुभयो ।
त्यस्तै ईश्वरपुर नगरपालिका ५ नरेशखोरमा करिब एक बिघा जमिन भाडामा लिएर  सिल्टी देवी महतोले तरकारी खेती गर्नु भएको छ । उहाँले आफ्नो तरकारी खेतीका स्थानीय पाँच जनालाई रोजगारी सृजना गरेको सिल्टी देवीले बताउनु भयो । मजदुरहरु संगै आफु र आफ्ना श्रीमान बिन्देवर महतो पनि रातदिन तरकारी खेतीमा मेहनत गरि रहेको उहाँको भनाई छ ।
सुरुमा चमेली बचत तथा ऋण सहकारी संस्था लिबाट रु ३० हजार ऋण लिएर तरकारी खेती सुरु गर्नु भएकी सिल्टी देवीले अहिले गाउँमा एक कठ्ठा घरेडी जोडि सक्नु भएको छ । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी अहिले जिल्लाको  ईश्वरपुर,लालबन्दी,नवलपुर र हरिवन बजामा बजार सम्म जाने गरेको उहाँको भनाई छ । तरकारी खेतीबाट सिजनमा वार्षिक रु पाँच लाख सम्म आम्दानी गर्ने गरेको उहाँको भनाई छ ।
मधेशमा महिलाहरुलाई प्राय घर बाहिरको काम गर्न नदिने प्रचलन रहेपनि त्यो पुरातनवादी परम्परालाई चिर्दै सहकारीबाट ऋण लिएर उहाँहरु सफल महिला व्यावसायी बन्नु भएको छ । जसरी दुःखको समयमा छोरी चेलीलाई साथ दिने माईती भएझैँ चमेली बचत तथा ऋण सहकारी संस्था लि जिल्लाका सफल महिला व्यावसायीहरुको माईती बनेको उहाँहरुको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech