सर्लाहीका तीनवटै क्याम्पसमा स्ववियु निर्वाचनको तयारी पूरा

874 Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीका तीनवटै क्याम्पसमा आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिभुवन विश्वविद्यालय मातहत रही सञ्चालित जिल्लाका जनज्योति बहुमुखी क्याम्पस लालबन्दी,चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवन र सर्लाही क्याम्पस मलङ्गवामा आईतबार एकैसाथ स्ववियु निर्वाचन हुँदैछ । आईतबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । त्यसका लागि मतदान केन्द्र तयार पारिसकिएको पाइएको छ ।
यि तीनवटा क्याम्पसमा ६० जना विद्यार्थी नेता प्रतिस्पर्धामा रहेका छन् । स्ववियू निर्वाचनमा स्नातक तह र स्नाकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुले मतदान गर्न पाउने छन् । तीनवटा क्याम्पसमध्ये सबैभन्दा धेरै सर्लाही क्याम्पस मलङ्गवामा दुई हजार दुई ३७ जना विद्यार्थी रहेका छन् ।
यो क्याम्पसमा पदाधिकारी र सदस्य सम्पूर्ण प्रत्यक्षबाट निर्वाचित हुने छन् । एक सभापतिका लागि तीन जना,एक उपसभापतिका लागि चार जना,एक सचिवका लागि तीन जना,एक कोषाध्यक्षका लागि चार जना र एक सह–सचिवका लागि तीन जनाको उम्मेदवारी परेको सर्लाही क्याम्पस मलङ्गवाका स्ववियु निर्वाचन समितिका संयोजक कृपानाथ झाले जानकारी दिए । उनका अनुसार छ जना सदस्यका लागि १८ जनाको उम्मेदवारी परेको छ । मलङ्गवामा विभिन्न दलबीच तीनवटा गठवन्धन बनेका छन् ।
यस्तै,जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा नौ सय ९६ जना विद्यार्थीले मतदान गर्दै छन् । क्याम्पसमा प्रत्यक्षबाट निर्वाचित हुने एक जना सभापतिका लागि दुई जना,एक जना सचिवका लागि दुई जना र एक जना कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । प्रत्यक्षमा छ जना सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक धर्मेन्द्र अधिकारीले बताए । जनज्योतिमा जनता समाजवादी पार्टी(जसपा)नेपालले कोषाध्यक्षमा मात्रै उम्मेदवारी दिएको छ भने एमालेले एकल र अन्य दलले गठवन्धन गरेर उम्मेदवारी दिएका छन् । 
त्यसैगरी,चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा सभापति,सचिव र कोषाध्यक्षका लागि दुई–दुई जनाको उम्मेदवारी परेको छ । चतुर्भूजेश्वरमा विभिन्न दलले तालमेल गरी बनाएको गठवन्धन र नेकपा एमालेको विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।
नौ सय ७० जना विद्यार्थी रहेको चतुर्भूजेश्वरमा सभापतिमा दुई जना,सचिवमा दुई जना, कोषाध्यक्षमा दुई जना र सदस्यमा १२ जनाको उम्मेदवारी परेको स्ववियु निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले बताए । जनज्योति र चतुर्भूजेश्वरमा समानुपातिकबाट पनि छ–छ जना सदस्य छानिने छन् । समानुपातिकबाट चुनिएका छ जना सदस्यमध्येबाटै उपसभापति र सह–सचिव मनोनित गरिने व्यावस्था रहेको छ ।

सम्बन्धित समाचार