हरिवन ४ को सासापुर स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा

759 Shares

गणेश खड्का
सर्लाहीको हरिवन नगरपालिका ४ सासापुरमा रहेको सासापुर स्वास्थ्य चौकीले टेलिमेडिसिन सेवा सुरु गरेको छ । हरिवन नगरपालिकाले काठमाडौंका विभिन्न अस्पतालहरुसँग समन्वय गरी सासापुर स्वास्थ्य चौकीका चिकित्सक र बिरामीसँग भिडियोमार्फत प्रत्यक्ष कुराकानी गराइने हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार टेलिमेडिसिन सेवा अन्तर्गत प्रत्येक महिना विशेषज्ञ चिकित्सकहरुसँग भिडियोमार्फत हरिवनका चिकित्सक र बिरामीहरुको सोझै कुरा हुने छ । न्यूरो सर्जन,बाथ तथा नशा रोग विशेषज्ञ,मानसिक रोग विशेषज्ञलगायतसँग भिडियोमार्फत स्वास्थ्य परामर्श तथा उपचारको व्यवस्था मिलाइएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्रका अतिविपन्न वर्गका मानिसहरुले स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य उपचार सेवा लिन सकुन् भन्ने उद्देश्यले टेलिमेडिसिन सेवा प्रारम्भ गरिएको हो ।
हरिवन नगरपालिकाले केही महिनाअघि देखिनै बाथ तथा नशा रोग विशेषज्ञ डा.नरेन्द्रराज मैनालीलाई महिनामा एक दिन हरिवन नगरपालिका ४ सासापुर स्थित रहेको सासापुर स्वास्थ्य चौकीमै ल्याएर उपचार सेवा प्रदान गर्दै आइरहेको हरिवन नगरपालिका ४ का वडा अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सासापुर स्वास्थ्य चौकीलाई नगर अस्पतालकै रुपमा स्तरोन्नति गर्दै नगर भित्रका सुत्केरीहरुलाई निःशुल्क एम्बुलेन्स,भिडियो–एक्सरे,ल्याब,खकार परीक्षण र अल्ट्रासाउण्डलगायतको सेवा सञ्चालन गरेको सासापुर स्वास्थ्य चौकीले जनाएको छ ।

सम्बन्धित समाचार