स्थानीय स्तरमै रोजगारी र आन्तरीक आयस्रोतको केन्द्र ः बागमतीको भरत ताल

1.4k Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)निर्माण कै चरणमा स्वदेशी तथा विदेशी पर्यटकहरुको पहिलो रोजाइ बनेको छ । बोटिङ गर्न,पिकनिङ’मनाउन र रमाइलो गर्नका लागि मधेश प्रदेश आउने स्वदेशी तथा विदेशी पर्यटकहरु भरत तालमा नपुगी नफर्किने गरेका पाइएको छ ।
मधेश प्रदेशका पर्यटकिय क्षेत्रहरुको भ्रमणमा आउने पर्यटकहरुको भरत ताल पहिलो रोजाइमा पर्ने गरेको छ । पछिल्ला दिनमा छिमेकी देश भारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेका बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिका ४ र १२ को एक सय २१ बिघाको क्षेत्रफलमा बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन अवस्थामा रहेको छ । यस तालमा बोटिङ गर्न पिकनिक मनाउनका लागि दैनिक हजारौं पर्यटक आउने गरेका बागमती इन्टरटेनमेन प्रा.लिले जनाएको छ । सुरुमा माछापालनका लागि पोखरी निर्माण सुरु गरिएको भएपनि पछि पर्यटकिय तालकै रूपमा विकास भएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए । उनका अनुसार २०७६ सालदेखि बागमती माछापोखरी(भरत ताल) निर्माण सुरु भएको हो । बागमती नदीको किनार र खेर गई रहेको बाँझो जमिनमा पोखरी खन्ने काम नगर प्रमुख थापाले २०७६ सालबाट सुरु गरेका थिए ।


पोखरी बनाउँदै जादाँ पछि तालमा परिणत गरिएको र ताललाई आकर्षण बढाउन फुटपाथ र बगैँचा बनाइएको नगर प्रमुख थापाले बताए ।’बाँझो र बागमती नदीको बगरको रूपमा रहेको खाली जमिनलाई पर्यटकीय क्षेत्र बनाएका छौं,जसबाट नगरपालिकाको आन्तरीक आयस्रोत पनि हुने र नगर भित्रका बेरोजगार युवाहरुलाई स्थानीय स्तरमा नै रोजगारी सृजना हुने भएकाले तालको रुपमा निर्माण सुरु भएको नगर प्रमुख थापाले बताए । ’सबै खाले अनुसन्धान गरेर ताल बनाउने काम गरिएको उनको भनाई छ ।
संघीय सरकार,प्रदेश सरकार र स्थानीय तहको बजेटबाट ताल बनाउने काम भई रहेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताए । उनका अनुसार ताल बनेपछि आर्थिक समृद्धिका साथै बागमती नगरपालिका,सर्लाही  जिल्ला र सिंगो मधेस प्रदेशकै नाम भारत लगायतका देशहरुमा समेत चर्चामा रहेको छ । तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । 
पर्यटकलाई सेवासुविधा दिनका लागि बोटिङ,वरिपरि नगर बगैँचा र सुविधासम्पन्न होटल निर्माणको काम भई रहेको छ ।सौन्दर्यकरणको काम पनि अहिले भइरहेको नगरपालिकाले जनाएको छ ।“वाटर फ्लाईलगायतका काम पनि हुँदैछन् ।पर्यटकलाई सेवासुविधा दिनका लागि तालकै बीचमा सुविधा सम्पन्न होटल निर्माणाधीन अवस्थामा छ । तालमा पानीको कमी कहिल्यै हुँदैन” नगर उप प्रमुख मोक्तानले बताइन् ।
“एकातिरबाट पानी हाल्ने र अर्कोतिरबाट निकाल्ने गर्दा तालको पानी पनि फोहोर हुँदैन। पानी हाल्दा तालमा जमेको पानी बाहिर जाने र अर्को पानी आउने हुँदा दुर्गन्धित हुने सम्भावना पनि हुँदैन ।’भरत ताल बनेपछि ताल घुम्ने र बोटिङ गर्न रहर लागेकाहरूलाई सयौं किलोमिटर जानुपर्ने बाध्यता टरेको”नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेलले बताए । उनका अनुसार ताल बनेपछि अहिले सर्लाही आसपासका जिल्ला तथा भारतका बिहार प्रान्तका सयौं पर्यटकहरू बिदा मनाउन बागमती आउने गरेका छन् ।लेक साइडको अनुभूति दिने भरत ताल बनेपछि पर्यटकहरू रमाएर आउने गरेका उनको भनाई छ ।
चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेस प्रदेशकै पहिचानको रूपमा स्थापित भएको छ । प्रकृतिको काखमा अवस्थित मानव निर्मित ताल झट्ट हेर्दा समुद्रको अनुभूति दिलाउने गरेको तालमा बोटिङ गर्न काठमाण्डौँबाट आएका आन्तरीक पर्यटक यतिराज अधिकारीले बताए ।“तालको वरिपरि रहेको बगैँचाले पर्यटकहरूको मन झनै लोभ्याउने रहेछ । भरत तालमा बोटिङ गरेपछि फेवातालको झल्को मेटियो” उनले बताए ।
 बिदाको दिन पिकनिक मनाउन आउने पर्यटकहरूको घुइँचो लाग्दो रहेछ ।हावाको बेगसँगै छल्किने तालको पानी,नजिकैबाट देखिने हरियो चुरे पर्वत र तालको छेउ भएर निरन्तर कलकल गर्दै बगिरहेको बागमती नदीको पानीको आवाजले अझै पर्यटकलाई लोभ्याउने ताल घुम्न आएकी निर्मला पहाडीले बताइन् । उनका अनुसार दिउँसो गर्मीले त्यति पर्यटक नआए पनि बिहान र बेलुका टिकटक बनाउने,फोटो खिच्नेहरूको ठूलो भीड लाग्दो रहेछ । मानवनिर्मित भएकाले पनि आफुलाई कहलिे पुगिएला भरत ताल भन्ने लागेको बुटबलबाट आएका अर्का आन्तरीक पर्यटक शंकर लामिछानेले बताए ।
भरत ताल निर्माण कै चरणमा नवविवाहिता जोडीहरूदेखि लिएर युवायुवतीहरू र आन्तरीक तथा बाह्य पर्यटकहरुको घुम्ने पहिलो रोजाइको थलो बनेको देख्दा आफुलाई खुसी लागेको उनले बताए । पूर्वपश्चिम लोकमार्गबाट करिब तीन किलोमिटर दक्षिणमा रहेको ताल सामाजिक सञ्जालमा पनि चर्चामा छ। ताल पुग्नका लागि पूर्व पश्चिम राजमार्गबाट दुईवटा बाटा छन् । 
नगर प्रमुख थापाको नेतृत्वमा पोखरी बनाउने काम भएकाले स्थानीयवासी तथा आसपासबाट आउने पर्यटकहरूले भरत ताल भनेर नामकरण गरेका छन् ।सामाजिक सञ्जालमा भरत ताल भनिएर प्रचारप्रसार हुनुको साथै ताल आसपासका कतिपय पसलहरूको नाम पनि भरत ताल नै राखिएको छ । जाने बाटोदेखि लिएर तालमा सञ्चालित बोटहरूमा समेत भरत ताल लेखिएपछि तालको नाम अझै प्रख्यात बनेको तालमा बोट चलाउने राज श्रेष्ठले बताए ।
तालको दक्षिण र पश्चिम भागमा बाँझो रहेको जमिनमा नगर बगैँचा बनाउने काम भएको छ । एक सय २८ बिघामा नगर बगैंचा बनाउने काम भइरहेको छ । ताल वरिपरि आँप, लिचीलगायतका फलफुलका बिरुवाहरु रोपिएका छन् । तालको निर्माण भएपछि छेउछाउका गाउँहरूमा सिँचाइ सुविधा पनि पुगेको साथै कलहरुमा पानी मज्जाले आउने गरेको स्थानीय सन्तोष गदालले बताए । उनका अनुसार तालमा पानी हाल्न थालेपछि पहिलाका वर्षहरुमा झैँ यस वर्ष ताल वरिपरिका बस्तीहरुका कलहरुमा हिउँदमा पनि पानी मज्जाले आएको छ ।
ताल बनेपछि करिब एक हजार जनाले रोजगारी पाएका नगरपालिकाले जनाएको छ । ताल छेउका होटल पनि भरिभराउ हुन थालेका छन् ।पर्यटक बढेसँगै अटो रिक्सा व्यवसाय पनि सुरु भएको छ । युवाहरूले बोट चलाउने देखि टिकट काट्ने तथा सवारी पार्किङ्गको काम पाएका छन् ।
तालबाट वार्षिक रु १ करोडभन्दा बढीको आम्दानी 
आर्थिक वर्ष २०७५÷०७६ बाट ताल बनाउन सुरु गरिएको हो। २०७८÷०७९ बाट ताल सञ्चालनमा आएको हो ।तालबाट वार्षिक रु एक करोडभन्दा बढीको नगरपालिकाको आन्तरीक आयस्रोत भउको नगरपालिकाले जनाएको छ । बोटिङबाट मात्र अहिले करोडभन्दा बढी आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।दुई भागमा रहेको तालको एक भाग अर्थात् उत्तरी खण्ड मात्र सञ्चालनमा छ। दक्षिणी खण्डमा निर्माणको काम भइरहेको छ । दुई खण्ड पूर्ण रूपमा निर्माण भएपछि आम्दानीको स्रोत अझै बढ्ने प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताउनु भयो । ताल बनेपछि बागमती नगरपालिकालगायत आसपासका करिब एक हजार भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने नगरपालिकाले जनाएको छ । 
पर्यटकलाई बस्नका लागि तालमै सुविधासम्पन्न होटल पनि निर्माणाधिन अवस्थामा रहेको छ । करिब रु सात करोडको लागतमा होटेल बनाउने काम भइरहेको छ।बिदाको बाहेक औसत रूपमा करिब दैनिक दुई हजारभन्दा बढी पर्यटक तालमा आउने गरेको बागमती इन्टरटेनमेन प्रा.लिले जनाएको छ ।
बोटिङबाट लाखौं आम्दानी
पर्यटकलाई आनन्दित पार्नका लागि तालमा अहिले २६ वटा इलेक्ट्रोनिक्स बोट राखिएको बोटिङ टिकट काउन्टरका सरोज श्रेष्ठले बताए । उनका अनुसार तालमा भीएसएलको एउटा ठूलो बोट र २६ वटा स्ट्रिम बोट रहेका छन्। बोटबाट हरेक दिन लाखौं आम्दानी हुने गरेको छ । बिदाको दिनमा राम्रो कमाइ हुन्छ । अन्य दिनमा एक लाखसम्मको टिकट बिक्री हुने गरेको श्रेष्ठले बताए । शनिबार र बिदाको दिनमा दुई हजार भन्दा बढी व्यक्तिले बोटिङ गर्ने गरेको बागमती इन्टरटेनमेन प्रा.लिको तथ्यांकमा उल्लेख छ । ताल बनेपछि कृषि कार्य गर्दै आएका स्थानीय युवा सन्तोषकुमार एस्मालीले बोट चलाउने काम पाएका छन् । त्यसबापत उनले महिनामा रु २५ हजार कमाइ हुने गरेको बताए ।’आफ्नै गाउँघरमा रोजगारी पाएको छु,विदेश जानु परेको छैन’ एस्माईलीले बताए ।
ताल घुम्न टाढा जानु परेन
नजिकै ताल बनेपछि अन्य टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य भएको रौतहट यमुनामाई नगरपालिका ४ का अन्दाजी ५५ वर्षीया दीपिया देवीले बताइन् ।“ताल घुम्नका लागि पोखरा जाने गरेको भएपनि  गए अहिले जिल्ला छेउमै रहेको बागमती नगरपालिकामा ताल निर्माण भएको छ घुम्न टाढा जानु परेको छैन् ।” उनले बताइन् । बाराको सिमराबाट ताल घुम्न आएका चन्देश्वर चौधरीले ’ताल घुम्न पाउँदा रमाइलो लागेको र ताल घुम्ने रहर पनि भरत तालले पूरा गरेको बताए ।

सम्बन्धित समाचार