बागमतीको भरत ताल मधेश प्रदेशको शान,निर्माण कै चरणमा एक करोड आर्जन

820 Shares

गणेश खड्का
सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन बागमती माछा पोखरी(भरत ताल) मधेश प्रदेशको शान बनेको छ । दक्षिण यसियाकै सबै भन्दा ठुलो मानव निर्मिता बागमती माछा पोखरी(भरत ताल) सर्लाहीको मात्र नभई मधेश प्रदेशको शान बनेको हो ।
२०७६ सालबाट बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन बागमती माछा पोखरी(भरत ताल) निर्माण कै क्रममा आन्तरीक तथा बाह्य पर्यटकहरुको रोजाईको केन्द्र बनेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए ।उनका अनुसान सुरुमा माछापालनका लागि पोखरी निर्माण सुरु गरिएको तर पछि पर्यटकिय तालकै रूपमा विकास भएको हो ।
माछा पोखरी खन्ने क्रममा नगरको आन्तरीक आयस्रोत पनि बढ्ने र स्थानीय बेरोजगार युवाहरुलाई रोजगारी पनि सृजना गर्न सकिने भन्दै ताल नै निर्माण गर्न थालिको नगर प्रमुख भतर कुमार थापाले बताए । उनका अनुसार बागमती माछा पोखरी(भरत ताल) निर्माण कै क्रममा तालमा बोटिङ गर्न पिकनिक मनाउनका लागि दैनिक हजारौं पर्यटक आउने गरेका छन् ।
बागमती नदीको किनार र खेर गई रहेको बाँझो जमिनमा २०७६ सालबाट पोखरी खन्ने काम सुरु गरिएको भएपनि पछि बागमती माछा पोखरी(भरत ताल) निर्माण गर्ने सोच बनेपछि सोही अनुसार अगाडि बढेको र अहिले बागमती माछा पोखरी(भरत ताल) निर्माण कै क्रममा नगरपालिकालाई आन्तरीक आयस्रोत जुट्न थालेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।
उनका अनुसार बागमती माछा पोखरी(भरत ताल) निर्माण कै क्रममा स्वदेशी तथा विदेशी पर्यटकहरुको पहिलो रोजाइ बनेको हो । बोटिङ गर्न,पिकनिक मनाउन र रमाइलो गर्नका लागि मधेश प्रदेश आउने स्वदेशी तथा विदेशी पर्यटकहरु भरत तालमा नपुगी नफर्किने गरेका नगर उप प्रमुख मोक्तानले बताईन् ।
बागमती नगरपालिका ४ र १२ मा एक सय २१ बिघाको क्षेत्रफलमा बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन अवस्थामा रहेको छ । मधेश प्रदेशका पर्यटकिय क्षेत्रहरुको भ्रमणमा आउने पर्यटकहरुको भरत ताल पहिलो रोजाइमा पर्ने गरेको नगरपालिकाले जनाएको छ ।पछिल्ला दिनमा छिमेकी देश भारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेका बागमती नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण कुमार लामाले जानकारी दिए ।उनका अनुसार सुरुमा माछापालनका लागि पोखरी निर्माण सुरु गरिएको भएपनि पछि पर्यटकिय तालकै रूपमा विकास भएको हो ।
पोखरी बनाउँदै जादाँ पछि तालमा परिणत गरिएको र ताललाई आकर्षण बढाउन फुटपाथ ,ताल वरिपरि फुलहरुको बगैँचाका साथै तालको तल्लो भु भागमा फलफुलहरुको नगर बगैँचा समेत निर्माण गनृे काम भई रहेको नगर प्रमुख थापाले बताए । उनका अनुसार बाँझो र बागमती नदीको बगरको रूपमा रहेको खाली जमिनलाई पर्यटकीय क्षेत्र बनाएका छौं,जसबाट नगरपालिकाको आन्तरीक आयस्रोत पनि हुने र नगर भित्रका बेरोजगार युवाहरुलाई स्थानीय स्तरमा नै रोजगारी सृजना हुने भएकाले तालको रुपमा निर्माण सुरु भएको हो ।
संघीय सरकार,प्रदेश सरकार र स्थानीय तहको बजेटबाट ताल निर्माणको काम भई रहेको छ ।ताल निर्माणकै क्रममा आर्थिक समृद्धिका साथै बागमती नगरपालिका,सर्लाही  जिल्ला र सिंगो मधेस प्रदेशकै नाम भारत लगायतका देशहरुमा समेत चर्चामा आउन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेलले बताए ।
उनका अनुसार पर्यटकलाई सेवासुविधा दिनका लागि बोटिङ,वरिपरि नगर बगैँचा र सुविधासम्पन्न होटल निर्माणको काम भई रहेको छ । सौन्दर्यकरणको काम पनि अहिले भइरहेको छ ।“वाटर फ्लाईलगायतका काम पनि हुँदैछन् ।पर्यटकलाई सेवासुविधा दिनका लागि तालकै बीचमा सुविधा सम्पन्न होटल निर्माणाधीन अवस्थामा रहेको छ । 
चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेस प्रदेशकै पहिचानको रूपमा स्थापित भएको छ । प्रकृतिको काखमा अवस्थित मानव निर्मित ताल झट्ट हेर्दा समुद्रको अनुभूति दिलाउने गरेको तालमा बोटिङ गर्न काठमाण्डौँबाट आएका आन्तरीक पर्यटक यतिराज अधिकारीले बताए ।“तालको वरिपरि रहेको बगैँचाले पर्यटकहरूको मन झनै लोभ्याउने रहेछ । भरत तालमा बोटिङ गरेपछि फेवातालको झल्को मेटियो”उनले भने ।
 बिदाको दिन पिकनिक मनाउन आउने पर्यटकहरूको घुइँचो लाग्दो रहेछ ।हावाको बेगसँगै छल्किने तालको पानी,नजिकैबाट देखिने हरियो चुरे पर्वत र तालको छेउ भएर निरन्तर कलकल गर्दै बगिरहेको बागमती नदीको पानीको आवाजले अझै पर्यटकलाई लोभ्याउने ताल घुम्न आएकी निर्मला पहाडीले बताइन् । उनका अनुसार दिउँसो गर्मीले त्यति पर्यटक नआए पनि बिहान र बेलुका टिकटक बनाउने,फोटो खिच्नेहरूको ठूलो भीड लाग्दो रहेछ । मानवनिर्मित भएकाले पनि आफुलाई कहलिे पुगिएला भरत ताल भन्ने लागेको बुटबलबाट आएका अर्का आन्तरीक पर्यटक शंकर लामिछानेले बताए । पूर्वपश्चिम राजमार्गबाट करिब तीन किलोमिटर दक्षिणमा रहेको ताल सामाजिक सञ्जालमा पनि चर्चामा छ। ताल पुग्नका लागि पूर्व पश्चिम राजमार्गबाट दुईवटा बाटा रहेका छन् । नगर प्रमुख थापाको नेतृत्वमा पोखरी बनाउने काम भएकाले स्थानीयवासी तथा आसपासबाट आउने पर्यटकहरूले भरत ताल भनेर नामकरण गरेका छन् ।सामाजिक सञ्जालमा भरत ताल भनिएर प्रचारप्रसार हुनुको साथै ताल आसपासका कतिपय पसलहरूको नाम पनि भरत ताल नै राखिएको छ । जाने बाटोदेखि लिएर तालमा सञ्चालित बोटहरूमा समेत भरत ताल लेखिएपछि तालको नाम अझै प्रख्यात बनेको छ ।
हजरीया,राजघाट र सोल्टीमा हिउँदको समयमा पिउने पानी हाहाकार हुने गरेको भएपनि ताल निर्माण सुरु भएर तालमा पानी भर्न थालेपछि हिउँदमा पनि कलमा राम्रोसंग पानी आएको स्थानीयले बताएका छन् ।
भने,पर्यटकलाई आनन्दित पार्नका लागि तालमा अहिले २६ वटा इलेक्ट्रोनिक्स बोट राखिएको छ । तालमा भीएसएलको एउटा ठूलो बोट र २६ वटा स्ट्रिम बोट रहेका रहेका बागमती इन्टरटेन्मेन प्रा.लिले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ बाट ताल बनाउन सुरु गरिएको भएपनि २०७८/०७९ बाट तालमा बोटहरु सञ्चालनमा आउँदा नगरपालिकाले ताल निर्माण कै चरणमा करिब एक करोड आन्तरीय आयस्रोत प्राप्त गरि सकेको छ ।भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले समेत भरत तालको स्थलगत अनुगमन गरेका छन् ।

सम्बन्धित समाचार