सर्लाहीको लालबन्दी नगरपालिका ७ बाट प्रतिवन्धीत लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी बजारबाट महोत्तरीको जलेश्वर नगरपालिका ९ का अन्दाजी वर्ष ६५ का नागेन्द्र सिंहलाई अन्दाजी पाँच किलो प्रतिवन्धीत लागु औषध गाँजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बुधबार दिउँसो करिब साँढे चार बजे इलाका प्रहरी कार्यालय लालबन्दीबाट गस्तीमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी बजारमा शंकास्पद अवस्थामा बसि रहेको समयमा सिंहलाई चेकजाँच गर्ने क्रममा अन्दाजी पाँच किलो प्रतिवन्धीत लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको र थप अनुसन्धान सुरु भएको छ।जिल्लाको उत्तरी चुरे क्षेत्रका साथै सिन्धुलीको हरिहरपुरगढी र मरिण गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादन भएको प्रतिवन्धीत लागु औषध गाँजा सर्लाहीका विभिन्न नाकाहरुको प्रयोग गर्दै कारोबारीहरुले छिमेकी देश भारतका बजारहरुमा पुर्याउने गरेका प्रहरी स्रोतको भनाई छ ।
पछिल्लो समय सर्लाहीका नाकाहरुको प्रयोग गर्दै जिल्लाको उत्तरी चुरे क्षेत्रका साथै सिन्धुलीको हरिहरपुरगढी र मरिण गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादन भएको प्रतिवन्धीत लागु औषध गाँजा छिमेकी देश भारत तर्फ जाने गरेको सुचनाको आधारमा सर्लाही प्रहरीले आफ्नो गस्तीलाई थप चुस्त दुरुस्त बनाएको छ ।