शंखर पहाडी(गौरब)
सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० वटा उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएका हुन् ।
उजुरी परेका साहुकारहरुलाई मङ्गलबार(आज)देखि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बोलाएर मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धिकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार “मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर,घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौंमा पुगेर आन्दोलन गरेका थिए ।”
सरकारले अध्यादेशमार्फत अनुचित लनेदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो । मधेश प्रदेशको राजधानी जनकरपुरधाममा अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले वैशाख २० गते सर्लाहीका मिटरब्याज पीडित,नागरिक समाज,जनप्रतिनिधि,सुरक्षा अधिकारी,विभिन्न दलका प्रतिनिधि र मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग आवश्यक छलफल गरेका थिए ।