Close This

सर्लाहीका २१ जनाको रिपोर्ट नेगेटिभ,३० जनाको रिपोर्ट आउन बाँकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-५ गते   ४१८ पटक हेरिएको

सर्लाहीको रामनगर गाउँपालिकाबाट संकलन गरिएको २१ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ ।स्थानीय १८ वर्षीया  युवतीमा कोरोना भाईरस पोजेटिभ देखिएपछि गत शनिवार उनका आफन्त एवं क्वारेन्टिनमा राखिएकाहरुको स्वाब संकलन गरी टेकु अस्पतालमा पीसीआर परीक्षणका लागि पठाईएको थियो । २१ जनाकै स्वाब परीक्षण नतिजा नेगेटिभ भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो ।
रामनगर गाउँपालिका ४ बाट दुई साताअघि काठमाडौं गएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि उनका परिवारका सदस्य र गाउँपालिकाको क्वारेन्टाइनमा रहेका गरी जम्मा २१ जनाको स्वाब संकलन गरिएको थियो । परिवारका सदस्यसँग सोधपुछ गर्दा चैत ७ गते गाउँ आएकी युवती वैशाख २२ गते मोटरसाइकलमा काठमाडौं गएको खुलेको रामनगर गाउँपालिका–४, का वडाध्यक्ष रामनरेश महतोले बताउनु भयो ।  युवतीसँगै उनका दुई बहिनी, एउटा भाई र गाउँबाट काठमाडौं चल्ने बसमा काम गर्ने एक जना कण्डेक्टर दुईवटा मोटरसाइकलमा काठमाडौं गएका थिए । होली मनाउन गाउँ आएकी सङ्क्रमित युवतीको परिवार काठमाडौंमा नै बस्छन् । युवतीका हजुरबुवा, हजुर आमा, काका, काकी र काका काकीका छोराछोरीसहित १४÷१५ जना गाउँमै बस्दै आएका छन् । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । संक्रमित युवतीका बुबा आमा सहित काठमाडौंमा बसेकाहरुको स्वाब परीक्षण पनि नेगेटिभ नै आईसकेको परिवारका सदस्यले जानकारी दिएका छन् ।
सर्लाहीमा हालसम्म धनकौल गाउँपालिका–५, का १४ वर्षीय बालक, हरिपूर्वा नगरपालिका–३, धनकौलका ४५ वर्षीय पुरुष र रामनगर गाउँपालिका–४, बहुअर्वाकी १८ वर्षीया युवती गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । तीमध्ये बालकको वीरगञ्ज र पुरुषको जनकपुरमा उपचार भइरहेको छ भने युवती काठमाडौंमै रहेकी छन ।
गत मङ्गलवार हरिपूर्वाका पुरुषमा संक्रमण पुष्टी भएपछि बुधवार उनको परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्ति, केही छरछिमेकी र नगरपालिकाले क्वारेन्टाइनमा राखेका ४ जना समेत गरी ३० जनाको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनकपुर पठाइएको छ । उनीहरुको भने रिपोर्ट आउन बाँकी छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech