Close This

खडेरीले मकै सुक्न थालेपछि सर्लाहीका किसानहरु चिन्तित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२४ गते   ५१७ पटक हेरिएको

प्रचण्ड गर्मीका कारण मकैका विरुवाहरु सुक्न थाले

दुर्गा कुमारी अधिकारी
सर्लाहीका किसानहरु भर्खरै गोडमेल गरेको मकै अत्याधिक गर्मीका कारण सुक्न थालेपछि मारमा परेका छन् ।पछिल्लो समय लगातार बढेको अत्यधिक गर्मीका कारण भर्खरै गोडमेल गरेको मकै सुक्नुका साथै मकैमा किराको प्रकोप देखिन थालेपछि जिल्लाका किसानहरु मारमा परेका हुन ।
पानी नपर्दा चर्को घाम र उच्च तापक्रमले मकै ओइलाएर सुक्न लागेको साथै मकैको पात र गुबो किराले काट्ने समस्या देखिन थालेको लालबन्दी नगरपालिका १५ का किसान राजेश थापा मगरले गुनासो गरे । उनका अनुसार आकाशे पानीको भरमा खेती हुने जिल्लाको उत्तरी चुरेक्षेत्र र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका किसानहरुले लगाएको मकै लामो समयदेखि पानी नपरेर सुक्नुका साथै मकैको पात तथा गुँबोमा किरा लाग्न थालेको छ ।
कामदार लगाएर गोडमेल गरेको मकै खडेरीले सुक्न र किराले खान थालेपछि के खाएर बााचने भन्ने चिन्ता बढ्न थालेको लालबन्दी नगरपालिका १५ का किसान कर्ण बहादुर दियालीलले बताए । उनका अनुसार किरा मार्नका लागि औषधि प्रयोग गरे पनि नियन्त्रण हुन सकेको छैन । जिल्लाको उत्तरी ग्रामिण क्षेत्र घारीबथान,परवानिपुर,पत्थरकोट,नारायणखोला, लालबन्दी,नवलपुर, अत्रौलीलगायतका क्षेत्रमा आकाशे वर्षा कुरेर खेती गर्नु पर्ने किसानहरुले रोपेको स्थानीय जातको मकैमा किराको प्रकोप देखिएको हो । 
उत्तरी क्षेत्रका किसानहरुले मकैलाई नै प्रमुख खेती मानेर लगाउने र त्यसैबाट आफ्नो जीविका चलाउने गरेका भएपनि लामो समय देखिको खडेरी र मकैमा देखिएको किराका कारण के खाएर बाच्ने भन्ने चिन्ता बढेको लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष छेनाम सिं घिसिङले बताए ।
उनका अनुसार अहिलेको मकै साउनमा पाकेपछि पर्याप्त पानी परेको मौका पारेर किसानहरुले धान रोप्ने गरेका छन् । यो वर्ष मध्य जेठको चर्को घाम र त्यसैमाथि किराको प्रकोपले मकैको बोट नै सुक्न थालेपछि किसानहरु चिन्ता बनेका छन् ।
लामो समयदेखि पानी नपर्दा हरेक बाली बिग्रन थालेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द राय यादवले बताए । उनका अनुसार अहिले जिल्लाको उत्तरी क्षेत्रमा मकै गोडमेल गरेर हुर्किने र जिल्लाभर नै धानको ब्याड राख्ने समय हो तर पानी नपर्दा किसानहरु अघिल्लो बाली नै सखाप हुने चिन्तामा छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech