गणेश खड्का
सर्लाहीको बागमती नगरपालिका १२ मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका १२, बथाने बस्ने कुमार वि.क. का अन्दाजी ४ वर्षीय छाेरा सलिन वि.क.को विषालु सर्पले टोकेर मृत्यु भएको हो ।
सानिआमा कल्पना वि.क. सँग सुतेका सलिन राति ११ बजेतिर एक्कासी रुन थालेपछि सर्पले डसेको आशङ्कामा उपचारका लागि लालबन्दी नगरपालिका १, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो ।
उपचार केन्द्रमा ल्याउँदा बालकको मृत्यु भइसकेको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले जानकारी दिए । उनका अनुसार बालकको बाटोमा नै मृत्यु भइसकेकाले थियाे ।
बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला राति नजिकै रहेको सानिआमाको घरमा गएर सुतेका बेला बालकलाई सर्पले डसेको स्थानीयले बताएका छन् । मृतक बालकको शव सोमबार परिवारले बुझेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
गर्मी अत्यधिक बढ्दा उपचार केन्द्रमा अहिले सर्पदंशका बिरामीको चाप बढिरहेको छ । केन्द्रमा दैनिक चार/पाँच जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका इन्चार्ज यादवले बताए ।
गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।