लिलाम नहुँदा करोडौँ मूल्यका सवारी साधन कबाड बन्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२ गते   ६४३ पटक हेरिएको

लामो समयदेखि लिलाम नहुँदा सर्लाही भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत करिब तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा चार सय २४ वटा मोटरसाईकल,चारवटा अटो रिक्सा,तीनवटा पिकअप भने,एक वटा मिनि ट्रक,तीन वटा जीप,दुई वटा ट्याक्टर,दुईवटा म्याजिक पिकअप,एकवटा म्याजिक भ्यान र तीन वटा ट्रक गरी चार सय ४३ वटा सवारी साधनहरु कबाड बन्दै गएको हुन् ।
भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया लागेर लिलाम नै नहुने अवस्थामा पुगि सकेका छन् ।एकातिर समयमा लिलाम नहुँदा सवारी साधन कबाड बनिरहेका छन्,भने अर्कोतिर सवारी साधन थन्क्याउने ठाउँ समेत अभाव हुन थालेको सर्लाही भन्सार कार्यालयका प्रमुख नरेश साहले बताए ।“हामीले पटक–पटक लिलामी प्रक्रिया थाले पनि प्रक्रिया लामो र झन्झटिलो भएका कारण अझै लिलाम गर्न सकेका छैनौँ ।” उनले भने 
पत्राचार गरिएका अटोमोबाइल्स कम्पनी तथा प्राविधिकहरुले विभिन्न बहाना बनाएर सवारी साधनको उत्पादन मिति नखुलाइ दिएकाले लिलामी प्रक्रिया नै रोकिएको उनको भनाई छ । आफूहरुसँग गाडीको उत्पादन मिति पत्ता लगाउने सफ्टवेयर नरहेकाले उत्पादन मिति खुलाउन नसकिएको अटोमोबाइल्स कम्पनी तथा प्राविधिकहरुले बताएका छन् । यसका लागि सवारी उत्पादन गर्ने कम्पनीलाई नै पत्राचार गर्नुपर्ने उनीहरुको भनाइ छ ।
स्थापनाकालदेखि नै जनशक्तिको अभाव झेल्दै आएको सर्लाही भन्सार कार्यालयमा अहिले पनि आवश्यक मात्रामा कर्माचारी छैन् । जसका कारण चाहेर पनि समयमै काम सम्पन्न गर्न नसकिएको कार्यालय प्रमुख साहको भनाई छ । कार्यालयका अनुसार ठाउँ नपाएर खुलारूपमै सवारी राख्दा वर्षायाममा सवारी साधनका पाटपुर्जामा खिया लागेर कबाड बन्दै गएको छ ।सर्लाही भन्सार कार्यालय मलंगवामा हाल प्रमुखसहित २४ जनाको दरबन्दी रहेको भएपनि १० जना कार्यालय सहयोगी,पाँच जना सुब्बा,एकजना कम्प्युटर अपरेटर र एक जना कार्यालय प्रमुख गरी १७ जना मात्रै कर्माचारीहरु रहेका छन् । 
दरबन्दीअनुसार कर्मचारी नहुँदा सवारी साधनको लिलामी प्रक्रिया,भन्सार राजश्व असुली र भन्सार याडमा आएका सामानहरुको समयमै लिलाम विक्रि गर्न नसकिएको कार्यालय प्रमुख साहले बताए । 
विभिन्न समयमा नेपाल प्रहरी,शसस्त्र प्रहरी र भन्सार कार्यालयबाट खटिएको टोलीले विभिन्न किसिमका सामानहरु भन्सार छली चोरी र निकासी पैठारी गर्ने कार्यमा  संग्लग्न रहेको पाएपछि नियन्त्रणमा लिएका सवारी साधनहरु कबाड बन्ने अवस्थामा पुगेका कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech