गणेश खड्का
जिल्ला प्रशासन कार्यालय सर्लाहीले दुई जना मिटरब्याजी आरोपीलाई प्रहरी हिरासतमा राख्न पठाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिने व्यक्तिहरुसहित छलफल गराउँदा कविलासी नगरपालिका १० सलेमपुरका इन्दल राय र कौडेना गाउँपालिका २ का रामयाद पण्डितले आलटाले कुरा गरेको र वास्तविक लेनदेनको विषय प्रष्टसँग राख्न नसकेपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै पुनः छलफलमा झिकाउने गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राख्न पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
उनका अनुसार दुवै जनाले ऋण दिँदा बनाएको तमसुक कति हो ? र वास्तमा रकम कति दिएको हो ?भनी प्रष्टसँग बताउन नसकेको तथा समस्या समाधान गर्नेतर्फ भन्दा पनि अदालतको विषय झिकेर विवाद गर्न खोजेपछि प्रहरी हिरासतमा पठाइएको हो ।
यसअघि मिटरब्याजी आरोपी मलंगवा नगरपालिका ४ का रामस्वरुप रायलाई पनि प्रहरी हिरासतमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेले बताए । उनका अनुसार बिहीबार थप २ जना गरी ३ जना मिटरब्याजी आरोपीलाई प्रहरी हिरासतमा राख्न पठाएको हो ।
पछि उनले १५ वटा उजुरीमध्ये ७ वटामा मेलमिलाप गरेको र बाँकी ८ वटा पनि समाधानकै चरणमा रहेपछि हिरासतमुक्त गरिएको छ । मिटरब्याजी पीडितले सर्लाहीमा जम्मा १ हजार ९ सय २० वटा उजुरी दिएका छन् । त्यसमध्ये अहिलेसम्म ५ सय जना पीडितसँग छलफल गरी ८७ वटा फछ्यौट भइसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।