दुर्गा कुमारी अधिकारी
सहीको हरिपुर्वा नगरपालिकामा विगत करिब ३ महिनादेखि लागेको ताला आईतबार खुलेको छ । आन्दोलनरत पक्ष र अर्काे पक्षवीच ५ बुँदे सहमति भएपछि गत चैत्र १५ गतेदेखि लागेको ताला आइतबार खुलेकाे हो ।
नेतृत्वमा सर्वदलिय संघर्ष समितिले विभिन्न ९ बुँदे माग राख्दै नगरपालिकामा चैत्र १५ गते तालाबन्दी गरेको थियो । जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको नेतृत्वमा नगरपालिकामा लागेको ताला खुलाउने विषयमा ५ बुँदे सहमति भएको नगर प्रमुख विनोद साह तेलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको कार्यालयमा विगत करिब ३ महिनादेखि ताला लाग्दा सामाजिक सुरक्षा भत्ता वितरण,शिक्षक कर्मचारीको तलब भत्ता तथा नगरपालिकाको विकास निर्माणको काम ठप्प भएको थियो ।
असार १० गते सम्म स्थानीय तहहरुले बजेट,नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्नुपर्ने प्रावधान भएका कारण पनि आफुहरु केही लचक भएर सहमती गरेको संघर्ष समितिका संयोजक विकाउ राय यादवले बताए । नगरपालिकामा लागेको ताला खुलाउने विषयमा आफु सहित जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह लगायतले पटक पटक प्रयास गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
उनका अनुसार नगरपालिकामा लागेको ताला खुलाउने,संघर्ष समितिले राखेको मागको पाँच दलिय कार्यदलले अध्ययन गरी प्रतिवेदन तयार गर्ने र नगरपालिकाको विकास निर्माण लगायतका कामहरुमा प्रभावित पार्ने खालका कुनै पनि कार्यक्रमहरु नगर्ने नगराउने लगायतका विषयहरुमा सहमती भएको छ ।
यता, आन्दोलनरत पक्षहरुका मागहरु सम्बोधन गर्ने सवालमा आफु पहिला देखि नै सचेत रहेको नगरप्रमुख विनोद कुमार साहले बताए ।‘आन्दोलनरत पक्षले राखेका माग पुरा गर्ने विषयमा हामीले पहिला पनि भनेका छौं, कि हामी क्रमशः माग पुरा गछौं । तर उनीहरु ताला खुलाउने कुरामा गम्भीर भएनन् ।अहिले ढिलै भएपनि सहमति भएको छ । अब आइतबार ताला खुलेको छ ।’
पटक पटक तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएपछि हरिपुर्वा नगरपालिकामा भर्खरै उपसचिव भएका निमेष मिश्रलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा तोकिएको छ ।तर उनी नगरपालिकाको ताला नखुले सम्म हाजिर नहुने अडानमा रहेका कारण पनि सहमती भएको हो ।