मधेस प्रदेशका आठ जिल्लामा एक हजार भन्दा बढी स्थानहरुमा आगलागीका घटनाहरु हुँदा १९ जनाको जलेर ज्यान गएको छ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख २० सम्मको १० महिनाको अवधिमा मधेस प्रदेशका आठ जिल्लामा एक हजार दुई सय ६६ स्थानहरुमा आगलागीका घटनाहरु हुँदा १२ महिलासहित १९ जनाको जलेर मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता एवम प्रहरी उपरिक्षक सुवाचन्द्र बोहराले जानकारी दिए । उनका अनुसार आगलागीमा परेर १५ जना बालबालिकासहित एक सय ३९ जना घाइते भएका छन् ।
उनका अनुसार आगलागीका घटनाहरुमा सबैभन्दा धेरै धनुषामा छ जना,सिरहामा पाँच जना, रौतहटमा तीन जना,बारामा दुई जना,सर्लाही,पर्सा र सप्तरीमा एक÷एक जना गरि मधेश प्रदेशका आठ जिल्लामा १९ जनाको जलेर मृत्यु भएको हो ।यो तथ्यांक अनुसार मधेश प्रदेशका जिल्लाहरुमा औसतमा प्रतिदिन चार वटा आगलागीका घटना हुने गरेका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकमा उल्लेख छ ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक अनुसार मधेश प्रदेशका आठ जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि वैशाख २० सम्मको १० महिनाको अवधिमा छ सय ६९ कच्ची,८८ पक्की र दुई सय ५३ गोठ गरि एक हजार १० घरगोठ जलेर नष्ट भएका छन् । १० महिनाको अवधिमा भएका आगलागी घटनामा दुई सय ९६ वटा पशुचौपाया जलेर मरेका छन् भने एक सय १४ वटा पशु चौपाया घाइते भएका तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार सबैभन्दा बढी आगलागी घटना सिरहामा दुई सय २९ वटा भएको छ भने कम सर्लाहीमा एक सय ११ वटा भएको छ । घर जलेको आधारमा सबैभन्दा बढी सप्तरीमा एक सय ९४ घरगोठ जलेको छन् भने महोत्तरीमा एक सय ९२,सर्लाहीमा एक सय ७७,सिरहामा एक सय ३०,बारामा एक सय २९, रौतहटमा ८८,पर्सामा ७५ र धनुषामा २५ घरगोठ जलेर नष्ट भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
आगलागीमा रु ९९ करोड ६० लाख ३७ हजार आठ सय ६४ बराबरको धनमाल जलेर नष्ट भएको छ।पछिल्लो समय भएको केही आगलागी घटनामा घनावस्ती,फुसको घर र सो समयमा चल्ने हावाले वस्तीहरू चपेटामा परेका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता एवम प्रहरी उपरिक्षक बोहराले बताए । “घनावस्ती,फुसको घर र सो समायमा चल्ने हावाले ठूलो आगलागीको घटना भएको छ ।बढी क्षति र आगलागी समयमा नियन्त्रणमा आउन नसक्नुमा स्थानीय तहमा दमकलहरूको अभाव हुनु हो।छिमेकी पालिका र जिल्लाहरूबाट दमकल मगाउनुपर्ने कारण तत्कालै नियन्त्रणमा कठिनाइ भयो।प्राविधिक कुराहरूको अभाव हुन्छ भने आगलागी घटना नियन्त्रण जनचेतना र सतर्कता नै विकल्प हो ।”मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको भनाई छ ।