सर्लाहीका चार स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । जिल्लाका २० स्थानीय तहहरु मध्य चार स्थानीय तहहरुमा जनप्रतिनिधिहरु बीचको आपसी द्वन्द्वका कारण आइतबार बजेट ल्याउन नसकेका हुन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने भएपनि जिल्लाको हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले आइतबार बजेट ल्याउन नसकेका हुन ।
देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा अन्य पालिकाले भने आ–आफ्नो गाउँ तथा नगरसभामा बजेट प्रस्तुत गरेका छन् । जिल्लाको चक्रघट्टा र कौडेना गाउँपालिकाले यसअघि नै बजेट ल्याइसकेका थिए ।
बाँकी १४ वटा पालिकाले आइतबार एकसाथ बजेट सार्वजनिक गरेका हुन् ।हरिपूर्वा नगरपालिकामा तीन महिनादेखि तालाबन्दी रहेकोमा आइतबारबाट तालाबन्दी खुले पनि बजेट प्रस्तुत हुन सकेन । चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलनमा रहेका छन् । हरिवन नगरपालिकामा पनि आपसी सहमती जुट्न नसक्दा नगरसभा हुन सकेन ।राजनीतिक विवादका कारण जिल्लाका चार पालिकाले बजेट ल्याउन नसकेका भएपनि अन्य १४ पालिकाले आईतबार एकैसाथ बजेट सार्वजनिक गरेका हुन् ।