गणेश खड्का
सर्लाहीको बागमती नगरपालिकाले करिब एक दर्जन नगर गौरबका योजना सार्वजनिक गरेको छ । नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्र बनाउने देखि लिएर नगरबासीहरुको आर्थोपार्जनका क्षेत्रलाई नगरपालिकाले नगर गौरबका योजनाको रुपमा विकास गर्ने भएको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
“नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्र बनाउने देखि बागमती नदी किनारमा आधुनिक आर्यघाट निर्माण,सुविधायुक्त बजार केन्द्र निर्माण,सांस्कृतिक नमूना बस्ती,बागमती माछापोखरी(भरत ताल) पर्यटन पुर्वाधार निर्माण आयोजना,बागमती फनपार्क आयोजना,बागमती रिसोर्ट,कृषि आधुनिकीकरण कार्यक्रम,नगर बगैँचा आयोजना र वौद्ध तपोवन पर्यटकीय स्थल निर्माण लगायतका आयोजनालाई नगर गौरवका आयोजनाहरुको रुपमा समेटेर विकास गर्न आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटमा समेटिएको”नगर प्रमुख थापाले बताए ।
संघिय संरचनापछि स्थानीय तहको निर्वाचनबाट दोस्रो पटक पनि निर्वाचित हुनु भएका नगर प्रमुख थापा सहितको टिमले“नगर क्षेत्रमा एकै प्रकारका घर निर्माणका लागि मापदण्ड लागू गर्ने,भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको व्यावस्थापन,प्रत्येक वडामा एउटा खुला क्षेत्र कायम गर्ने,नदी उकास,पर्ती जमिनको संरक्षण गर्ने”जस्ता विषयलाई प्राथमिकतामा राखेर बागमती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेकोे नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् ।
मधेश प्रदेशमै सबैभन्दा धेरै सडक कालोपत्रे बनाउने स्थानीय तहको रुपमा बागमती नगरपालिका रहेको र नगर भित्रका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर तथा भौतिक संरचनाको गुणस्तरमा कुनै कसर बाँकी नराखी काम भई रहेको नगर उप प्रमुख मोक्तानले बताईन् ।
नेपालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुरको तराईमा सिकार खेल्न आएको समयमा १९३३ सालमा निधन भएको थियो ।उनको अन्त्येष्टि भने सर्लाहीको बागमती नगरपालिका ७ राजघाट स्थित मानेचौरमा गरिएको थियो। अहिले नगरपालिकाले सोही स्थानलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लागेको हो ।
बागमती नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउने गरी काम अघि बढाइएको नगर प्रमुख थापाले बताए । उनका अनुसार छोरी जन्माउने आमालाई रु पाँच हजार सुत्केरी भक्ता दिने उत्कृष्ट दलित विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने दगायतका योजनाहरु नगरपालिकाले सार्वजनिक गरेको छ । मधेशमा छोरी जन्मिए दाईजो दिनुपर्छ भन्ने सोचका कारण भ्रुण हत्याका घटनाहरु भई रहेको समयमा बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप रु पाँच हजार दिने घोषणा गरेको नगर उप प्रमुख मोक्तानले बताइन् ।