सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हरिवन नगरपालिका ५ का अन्दाजी वर्ष ३५ का रामभरोस महतोले श्रीमती अन्दाजी वर्ष ३० की नैनकुमारी महतोमाथी खुकुरी प्रहार गरि हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिवन नगरपालिका ५ का महतोले घरायसी विवाद हुँदा आवेशमा आइ श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार महतो दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको छिमेकीले बताए थियो । श्रीमतीको हत्या गरी रामभरोस आफै इलाका प्रहरी कार्यालय हरिवनमा आत्मसमर्पण गर्न पुगेका प्रहरीले जनाएको छ ।उनलाई हिरासतमा राखी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक शिवराम थापाले बताए ।
अभियुक्त रामभरोसले ईलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेपछि घटनास्थलमा पुगेर मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको प्रहरीले जनाएको छ ।