शंखर पहाडी(गौरब)
नयाँ नागरिकता ऐनअनुसार सर्लाहीमा करिब साँढे तीन हजार नयाँ नागरिकता वितरण भएका छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी असार ७ मा सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानुन अनुसार देशभर नागरिकता वितरण सुरु भएको थियो ।जस अनुसार सर्लाहीमा तीन हजार चार सय चार नयाँ नागरिकता वितरण गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
.jpg)
जिल्ला प्रशासन कार्यालय सर्लाहीको तथ्यांकअनुसार नयाँ ऐन लागू भएपछि जिल्लामा असार १० गते देखि हाल सम्म तीन हजार चार सय चार जनाले नेपाली नागरिकता लिएका छन् । नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

‘नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित भयो । त्यसलगत्तै राजपत्रमा प्रकाशित भयो । करिब एक महिनाको अवधिमा जिल्लामा तीन हजार चार सय चार जनाले जन्मको आधारमा नागरिकता लिएका र यो संख्या दैनिक वृद्धि भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी यादवले बताए ।गत १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएको थियो ।
विधेयक राजपत्रमा प्रकाशित भएलगत्तै नागरिकता वितरण सुरु भएको थियो । तर,सर्वोच्चमा रिट परेपछि सुरुमा अदालतले यसलाई लागू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर,सर्वोच्चले ७ असारमा नयाँ ऐन कार्यान्वयनका लागि बाटो खुला गरेपछि बल्ल नागरिकता वितरणले गति लिएको थियो ।
नयाँ ऐनअनुसार सबैभन्दा धेरै नयाँ नागरिकता लिनेहरुको संख्या पनि मधेस प्रदेशका जिल्लाहरुमा धेरै रहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर २९ जिल्लाबाट नागरिकता वितरण भएको र जसमध्ये धेरैजसो मधेश मधेसका जिल्ला छन् ।
सर्लाहीबाट तीन हजार चार सय चार जनाले जन्मको आधारमा नागरिकता लिएका सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेले जानकारी दिए ।२० स्थानीय तह रहेको सरर्लाहीमा दुई ईलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट असार १० गतेदेखि जन्मको आधारमा नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट असार १० गतेदेखि हाल सम्म एक हजार पाँच सय ५४,ईलाका प्रशासन कार्यालय बरहथवाबाट एक हजार एक सय र ईलका प्रशासन कार्यालय हरिवनबाट सात सय ५० गरी कुल तीन हजार चार सय चार जनालाई जन्मको आधामा नागरिकता वितरण गरिएको हो ।

नेपालको संविधान २०७२ मा जन्मसिद्ध नेपाली नागरिकका सन्तान,बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानले वंशजका आधारमा नगरिकता लिन सक्ने व्यवस्था गरिएको छ । तर,विविध विवादका कारण कानुन बन्न नसक्दा उनीहरूले नागरिकता पाउन सकेका थिएनन् । हाल सम्म मुलुकभरबाट जन्मका आधारमा नागरिकता लिएकाहरूको संख्या करिब एक लाख ९० हजार रहेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
नयाँ नागरिकता ऐनले गैरआवासीय नागरिकलाई पनि नेपाली नागरिकता लिने सक्ने बाटो खुला गरिदिएको छ । तर,उनीहरूले प्राप्त गर्ने नागरिकता प्रकृति राजनीतिक अधिकारसहितको होइन । जसका लागि नियमावली बन्नु आवश्यक छ । सोही कारण उनीहरूलाई भने तत्काल नागरिकता वितरण गरिएको छैन ।
कसले पाउछन् नागरिकता
२०७२ असोज २ गते भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।यस ऐनबमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिने प्रावधान रहेको छ ।
विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्यराष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।