दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दी नगरपालिकाको सार्वजनिक सुनुवाईमा न्युन जनप्रतिनिधिहरु तथा स्थानीयको सहभागीता रह्यो ।१७ वटा वडा रहेको लालबन्दी नगरपालिकाले लालबन्दी नगरपालिका ७ मा गरेको सार्वजनिक सुनुवाईमा नगरका केही मात्र जनप्रतिनिधिहरु र स्थानीय नगरबासीहरुको सहभागीता रहँदा आफ्नो गुनासो सुनाउन नपाएको भन्दै अन्य स्थानीयले आक्रोश पोखेका छन् ।
उनीहरुले जनप्रतिनिधिहरुले आफैले गरेको भन्दै पुराना योजनाहरु आफ्नो नाममा देखाएर पन्छिन खोजेका समेत नगरबासीहरुको आरोप छ । सर्वसाधारण,विद्यार्थी,शिक्षक,विभिन्न संघ÷संस्थाका प्रतिनिधि,स्थानीय विभिन्न दलका नेता,व्यापारी लगायतले वडा तथा नगर स्तरबाट भए गरेका विभिन्न विकास निर्माणका काम,सेवा,सुविधा,शिक्षा,स्वास्थ्य,कृषि, सामाजिक विकास,अपराध,दुर्घटना सुरक्षा लगायतका क्षेत्रमा गरिएका कामबारे सार्वजनिक सुनुवाईमा जिज्ञाशा राखेका थिए ।

लालबन्दी नगरपालिकामा १७ वटा वडा रहेका भएपनि सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख बासुदेव अधिकारी,उपप्रमुख कल्पना माया पाख्रिन र केही न्यून संख्यामा वडाअध्यक्षहरुको मात्र उपस्थिति रहेकोले थियो । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार चालु आर्थिक वर्षमा वडा तथा नगरबाट भए गरेका प्रत्येक गतिविधिहरुको बारेमा नगरबासीहरुलाई जानकारी गराएर सल्लाह सुझाव संकलन गर्ने उदेश्यले सार्वजनिक सुनवाइ कार्यक्रमको आयोजना गरिएको भएपनि राजनैतिक आग्रह पुर्वाग्रहका कारण सबै जनप्रतिनिधिहरुको सहभागीता रहन नसकेको केही जनप्रतिनिधिहरुले बताएका छन् ।
गत आर्थिक वर्ष २०७८÷०७९ को साउन देखि असार मसान्तसम्म कृषि,सिंचाइ,स्वास्थ्य,शिक्षा,संस्कृति,लघु उद्यम,विधुत सेवाको विस्तार,सडक स्तरोन्नति र सरसफाइ लगायतका कामहरुको साथै जग्गाको वर्गिकरण गरि कित्ताकाट सुरु गराएको,कर्मचारीहरुको व्यवस्थापन,विभिन्न योजना तथा कार्यक्रमहरु नियमितरूपमा संचालन गरि सम्पन्न गरेको,कृषि,सिंचाइ र खानेपानीका संरचनाहरु निर्माण गरेको,नारायण खोला र कालिन्जोर खोलामा पक्की पुल,विभिन्न सामुदायिक विद्यालयको भवन र सामुदायिक भवनको निर्माणकार्यको लागि ठेक्का आव्हान भइ काम सुचारु रहेको र केहीको काम सम्पन्न समेत भइसकेर योजना तथा कार्यक्रमहरुको भुक्तानी ९८ प्रतिशत सम्पन्न भइसकेको नगरप्रमुख अधिकारीले सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराएका छन् ।
त्यसैगरी रंगशाला,औद्योगिक ग्राम,बजार व्यवस्था,लालबन्दी,मरिन,दुम्जा सडकमा ट्रयाक खोल्ने काम,पर्यटन विकास,वडा स्तरमा पुर्वाधार विकास लगायतका कामका लागि पनि प्रकृया अगाडी बढाइसकेको नगरप्रमुख अधिकारीले जानकारी गराए। गत आर्थिक वर्ष २०७८÷०७९ को असार मसान्तसम्म नगरबाट विविध शिर्षकमा सामाजिक सुरक्षा भत्ता बाहेक कुल वार्षिक बजेट रु १ अर्ब १७ करोड ७६ लाख १५ हजार रहेकोमा कुल खर्च ७४ दशमलव १३ प्रतिशत भएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए । सार्वजनिक सुनुवाईमा आएका गुनासो तथा सल्लाह सुझावलाई मनन् गर्दै आगामी दिनमा जनचाहना अनुसार अघि बढ्ने नगर प्रमुख अधिकारीले प्रतिवद्धता व्यक्त गरे ।
तर,नगर प्रमुखमा अधिकारी निर्वाचित भएदेखि स्थानीय सरकारले चर्चा गर्न लायक कुनै काम नगरेको स्थानीय राजनैतिक दलहरुको आरोप छ ।उनीहरुका अनुसार नगर प्रमुख अधिकारी जनप्रतिनिधि भएपनि जनप्रतिनिधि जस्तो नभई कर्माचारी जस्तो मात्रै भएका छन् ।