सर्लाहीका उखु उत्पादक किसानहरुले दशैँअघि नै उखुको अनुदान वापतको रकम पाउने भएका छन्। सर्लाहीका उखु उत्पादक किसानहरुलाई वितरण गर्न २९ करोड ७१ लाख सात हजार आठ सय तीन रुपैँया अनुदान वापतको रकम निकासा भएर आएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईले जानकारी दिए ।उनका अनुसार दशैँ बिदाअघि नै जिल्लाका उखु उत्पादक किसानहरुको खातामा अनुदान वापतको रकम जम्मा भइसक्ने गरी तयारी भई रहेको छ।उखु उत्पादक किसानहरुलाई अनुदान वापतको रकम पठाउन अनुदान वितरण समितिको बैठक बस्नु पर्ने र प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बाढी पीडितको उद्धार तथा राहतमा केन्द्रित भएकाले बैठक नबसेका कारण उखु उत्पादक किसानहरुको खातामा अनुदान वापतको रकम जम्मा ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक गुरागाईले जानकारी दिए ।
जिल्लाका स्थानीय तहहरु र चिनी मिलहरुसँग उखु उत्पादक किसानहरुको विवरण र आवश्यक कागजात लिने काम भईरहेको र दशैँअघि नै सबै उखु उत्पादक किसानहरुले अनुदान वापतको रकम पाउने कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक गुरागाईले बताए ।उखु उत्पादक किसानहरुलाई जतिसक्दो चाँडो अनुदान वापतको रकम उपलब्ध गराउने वातावरण मिलाउन प्रमुख जिल्ला अधिकारी सहित अनुदान भुक्तानि समितिका अन्य पदाधिकारीहरुसँग समेत समन्वय र सहकार्य गरिरहेको उनले बताए।स्थानीय तहहरुमा दर्ता भएका उखु उत्पादक किसानहरुको विवरण र चिनी मिलहरुले दिनुपर्ने उखु क्रसिङको विवरण धमाधम प्राप्त भइरहेको कार्यालयले जनाएको छ ।
सरकारले उपलब्ध गराउने अनुदान वापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले बैङ्कलाई चेक काटेर दिने र बैङ्कले उखु उत्पादक किसानहरुको खातामा जम्मा गरिदिने व्यवस्था रहेको छ।गत वर्ष सरकारले उखु उत्पादक किसानहरुलाई प्रतिक्विन्टल रु ७० का दरले अनुदान वापतको रकम उपलब्ध गराउने निर्णय गरेको थियो।कुन किसानको के–कति परिमाणमा उखु क्रसिङ भयो भनी चिनी मिलहरुले कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीलाई विवरण उपलब्ध गराउने छन्।गत वर्ष अपुरो रकम निकासा भएर आउँदा मुख्य चाडपर्वमा समेत उखुको अनुदान वापतको रकम नपाएका सर्लाहीका उखु उत्पादक किसानहरु यो वर्ष दशैँअघि नै अनुदान वापतको रकम पाउने भएपछि खुसी भएका छन् ।
उखुको अनुदान वापतको रकमले नै दशैँ मनाउने जिल्लाका उखु उत्पादक किसानहरुको तयारी रहेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए। उनका अनुसार दशैँअघि नै अनुदान वापतको रकम पाउने भएपछि जिल्लाका उखु उत्पादक किसानहरु खुसी भएका छन् ।