काठमाडौं । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बुधवार बरामद भएको सुन आफ्नो नभएको दाबी गरेका छन् । उनले बिहीवार पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन् ।
राजस्व अनुसन्धान विभागको टोलीले बुधवार विमानस्थलको गेटअगाडिबाट करिब १०० किलोभन्दा बढी सुन बरामद गरेको थियो ।
उक्त सुनमा मल्होत्राको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको समाचार प्रकाशित भएपछि उनले पत्रकार सम्मेलन गरी आफ्नो धारणा राखेका हुन् । उनले भने, ‘सुन आयातमा म र मेरो परिवार संलग्न छैन । मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु।’
यस प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । यसबारे छानबिनका लागि भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।