बनेपा–सिन्धुली–बर्दिबास (वि.पी) राजमार्गमा आगामी १५ दिनसम्म रातिको समयमा यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको सिन्धुली,काभ्रे र रामेछापका सुरक्षा समन्वय समितिको संयुक्त बैठकले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हुन ।
वि.पी राजमार्गको सिन्धुलीको खुर्कोटबाट काभ्रेको काभ्रे भन्ज्याङ खण्डमा राति साँढे ६ बजेबाट बिहान ५ बजेसम्म यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।उनका अनुसार वि.पी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि काभ्रेको काभ्रे भञ्ज्याङ खण्डलाई बाढी र पहिरोको दृष्टिकोणले अति जोखिमपूर्ण मानिएको छ।वर्षातका समयमा राति सवारी साधन आवतजावत गर्दा कतिबेला कहाँ जोखिम हुने टुङ्गो नभएपछि सुरक्षालाई मध्यनजर गर्दै पहिलो चरणमा १५ दिनका लागि रातीको समयमा यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।
सिन्धुलीबाट काभ्रेतर्फ जाने सवारी साधनहरुलाई सिन्धुलीको खुर्कोट र काठमाडौंबाट काभ्रे हुँदै सिन्धुलीतर्फ आउने सवारीलाई काभ्रेको काभ्रेभन्ञ्याङमा होल्ड गरिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए।उनका अनुसार यस अघि वि.पी राजमार्ग अन्तर्गत भिमान र काभ्रेको काभ्रे भन्ञ्याङमा रातिको समयमा सार्वजनिक सवारी साधनहरुलाई रोक लगाउँदै आइएको थियो।तर अब भने त्यस खण्डमा नीजि सवारी साधनहरु समेत यात्रु बोकेर सञ्चालन हुन पाउने छैनन्।
यस्ता क्षेत्रमा सुरक्षा निकायसंगको समन्वयमा मात्र सवारी साधन सञ्चालन गरिने छ।बी.पी राजमार्ग हुँदै पूर्वी नेपाल तथा मध्य तराईका जिल्लाका साथै सिन्धुली,रामेछाप,दोलखा,काभ्रे, ओखलढुंगा लगायतका जिल्लासम्म सवारी साधनहरू आवतजावत गर्छन्।गत असोज ११ र १२ गते रोशी र सुनकोसी नदीमा आएको बाढीका कारण बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेशी खण्ड तहसनहस भएको छ।
उक्त खण्डमा अस्थायी डाइभर्सन बनाएर यातायातका साधन सञ्चालनमा ल्याइएको भएपनि केही दिनदेखि लगातार पर्दै आएको पानीका कारण आउने बाढिपहिरोले अवरुद्ध हुँदै आएको छ। रोशी खोलामा आउने बाढीले काभ्रेको माम्ती,चौकीडाँडा,मंगलटार लगायतका क्षेत्रमा क्षेती पु¥याएको छ।यसैगरी नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडकमा पूर्ण रूपमा क्षति पुगेको छ। यस्तै सिन्धुलीको नेपालथोक देखि आँपघारीसम्मको सडक क्षति भएको छ।
रोशीलाई तर्काएर तिरैतिर अस्थायी रुपमा डाइभर्सन निर्माण गरेर एकतर्फी यातायातका साधनहरु सञ्चालनमा ल्याइएको भएपनि बाढी र पहिरोले जति बेला पनि अवरुद्ध हुन सक्ने जोखिम छ।सो सडक पुनर्निर्माणका लागि सरकारले ठेक्का प्रक्रिया अघि बढाएको छ। राजमार्ग पूनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लागत लाग्ने प्राविधिक अध्ययनले देखाएको छ।
पूर्वी नेपाल तथा मध्य तराईबाट संघीय राजधानी काठमाडौं आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको बीपी राजमार्गमा दैनिक १० हजारबढी सानाठुला सवारी सञ्चालन हुने गरेका छन्। कुल १ सय ६० किलोमिटर दूरी रहेको राजमार्गमा यात्रा गर्न यस अघि करिब चार घण्टा लाग्ने गरेकोमा अस्थायी ट्रयाकमा अहिले ८ घण्टाभन्दा बढी समयमा लाग्ने गरेको छ। अस्थायी ट्रयाकमा घण्टौं जाम र धुलोको सास्ती ब्यहोर्नुपर्ने यातायात व्यवसायीहरू बताउँछन्।
जापान सरकारको अनुदान सहयोगमा २०५२÷५३ सालबाट निर्माण थालिएको राजमार्गको १ सय ६० किलोमिटर सडक २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड लागत भएको जनाए पनि यसपटक पुनर्निर्माणमा प्रतिकिलोमिटर एक अर्ब लाग्ने अनुमान गरिएको छ।