Close This

नगरपालिकाको भवन सिलान्यास,अलपत्र भवनको अनुसन्धान जारी

रासस    प्रकाशित: २०७६-१०-२९ गते   ३८९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणको सिलान्यास गरिएको छ । १ करोड १० लाख नगरपालिकाको बजेटको व्यावस्थाबाट ६ महिनामा  निर्माण सम्पन्न गर्ने गरि हिना कन्ट्रक्सनले ठेक्का लिएको हो । भवन निर्माणका लागि आर्थिक वर्ष २०७६÷०७७ बाट भुक्तानी गर्ने गरि १ करोड १० लाख नगरपालिकाको बजेटको व्यावस्थाबाट असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरि हिना कन्ट्रक्सनले ठेक्का पारेको लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजनकुमार श्रेष्ठले बताउनु भयो।

नगरपालिकाको भवनको लागि विभिन्न १९ वटा ठेकेदार कम्पनीहरुले ठेक्का हालेका थिए । जस मध्येबाट २०७६ साल पौष २१ गते हिना कन्स्ट्रक्सनलाई  जम्मा ७१ लाखमा ठेक्का परेको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो। नगरपालिका ८ कोे अधुरो भवन निर्माण स्थलसंगै रहेको खाली  जमिनमा २ तले ७ कोठे नया भवन निर्माण गर्न नगरपालिकाकाले हिना कन्स्ट्रक्सनलाई  ७१ लाखमा ठेक्का दिएकोे हो । जसमा तल्लो तलमा ३ कोठा,१ बैठक कक्ष र २ वटा शौचालय  निर्माण हुने छ भने माथिल्लो तलमा ४ कोठा र २ वटा शौचालय  निर्माण हुने ठेकेदार कम्पनीले बताएको छ । 
लालबनदी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले एक अनौपचारीक कार्यक्रमका बीच भवनको सिलान्यास गर्नु भएको हो । भने बिहीबारसिलान्यास गरिएको भवन नजिकै नगरपालिकाको अर्काे भवन निर्माण कार्य करिब ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।निर्माण कार्यको ठेक्का लिएको ठेकेदारले २०७३ साल बैशाखमा काम छोडेर हिडेपछि नगरको भवन निर्माणको कार्य अलपत्र परेको हो । लालबन्दी नगरपालिका ८ मा कुल २ करोड १२ लाखमा लोकवीर बेताली,पाच कुमारी जेभी काठमाण्डौले लालबन्दी नगरपालिकाको २ तले भवन निर्माणका लागि काम गर्ने सहमतीमा ठेक्का पारेकोे थियो ।
२०७२ असार ७ गते भएको सम्झौता अनुसार २०७५ असार मसान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने सहमती भएको थियो । तर सम्झौता मिति गुज्रिएको करिब डेढ वर्ष पुग्नै लाग्दा पनि भवन निर्माणको कार्य अलपत्र अवस्थामा रहनु मात्र नभई निर्माण सामाग्री समेत चोरीपैठारी गरि लान खोजेको अवस्थामा लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडा  अध्यक्ष राजन कुमार श्रेष्ठले नियन्त्रणमा लिएको बताउनु भयो ।
भवन निर्माणको काम छोडेर बेपत्ता भएको ठेकेदार कम्पनीले पटक पटक गरि कुल ९७ लाख रकम लागि सकेको छ । ठेकेदार कम्पनीले २०७२ असोज १७ गते ४२ लाख पेश्की स्वारुप लिएको थियो । त्यसपछि २०७२ पौष २७ गते ४३ लाख २८ हजार ८ सय ३५ रुपैया र २०७२ साल फाल्गुन ३० गते ११ लाख ७१ हजार १ सय ६५ रुपैया बुझेको नगरपालिकाले जनाएको छ ।
अलपत्र रहेको भवन निर्माणको काम सुरु गर्न पटक पटक पत्र काटेपनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाले बताउनु भयो । ठेकेदारले जमानत राखेको भनेको ४२ लाख रुपैया बैंकको रेकर्डमा नभेटिएको भनेर बैकबाट नगरपालिकामा पत्र आएको उहाले बताउनु भएको छ । काम सुरु गर्न र जमानतको रकम बैंकमा जम्मा गर्न आफुहरुले पटक पटक पत्रचार गरेपनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको प्रमुख प्रशासकिय अधिकृत तिमल्सेनाले बताउनु भयो । भने ठेकेदार कम्पनीले जमानत राखेको भनेको रकममा बंैक अधिकारीहरुको र बैंक प्रवन्धकसहितको हस्ताक्षर रहेको भएपनि बंैकले पत्र काट्नु र जमानत वापतको रकमको रेकर्ड नभेटिनुले पनि थप समस्या आएको नगरपालिकाले जनाएको छ ।
नक्कली कागजात पेश गरि रकम लिएर फरार रहेको भन्दै नगरपालिकाले ठेकेदार कम्पनी विरुद्ध जिल्ला अदालत सर्लाही र  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्धा दायर गरेको छ । ठेकेदार कम्पनीलाई कार्बाहीका लागि २०७२ फाल्गुन ३० गते स्थानिय प्रहरीमा समेत उजुरी परेको नगरपालिकाले जनाएको छ । अख्तियारले मुद्धाको टुगों नलागे सम्म अधुरो रहेको भवन निर्माणको काम अगाडि नबढाउन निर्देशन दिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले बताउनु भयो ।

अख्तियारको टोलीले सर्जिमी मुचुल्का गरि ३० प्रतिशत काम भएको मुल्यांकन गरेको  नगरपालिकाका प्रवक्ता श्रेष्ठले बताउनु भयो । ठेकेदारले काम गरेको भन्दा २५ प्रतिशत बढी भुक्तानी लगेको समेत मुल्यांकन गरिएको प्रवक्ता  श्रेष्ठले बताउनु भयो । पहिलो भवन निर्माण हुदा पनि नगरपालिकालाई भवन नपुग्ने भन्दै अर्काे भवन निर्माणको लागि सिलान्यास गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको अलपत्र अवस्थामा रहेको भवनको सम्बन्धमा वडाबासीहरुले संघर्ष समिति समेत बनाएर अख्तियारको केन्द्रीय कार्यलयमा डेलीगेसन जाने र  अनुरोधका साथ सो भवन निर्माणका लागि लागेको रोक्का फुकुवा गर्ने तयारी समेत गरेका प्रवक्ता श्रेष्ठले बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलयमा भवन निर्माण कार्यमा लागेको रोकावटक फुकुवाको लागि अनुरोधसंगै दवाब दिन लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का,प्रदेश सभा सदस्य बेची लुंगेली, प्रतिनिधि सभा सदस्य प्रमोद कुमार साह लगायत स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसंग सो सम्बन्धमा परामर्स भईरहेको प्रवक्ता श्रेष्ठले बताउनु भयो । अलपत्र अवस्थामा रहेको भवन निर्माणका लागि स्थानिय बडाबासीहरुले संघर्ष समिति समेत गठन गरेका र आर्थिक वर्ष २०७६÷०७७ भित्रमा सो अलपत्र अवस्थामा रहेको नगरपालिकाको भवनको मुद्धा किनारा लगाई भवन निर्माणका लागि फुकुवा गरि दिन आग्रह गर्न डेली केसनमा जाने समेत सहमती गरि सकेको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
आफुहरुले अहिले सेवा दिई रहेको भवनमा पर्याप्त कोठा नहुदा काम गर्न असहज भएकोले सेवाग्राहीको गुनासो आउने गरेको नगर प्रमुख खड्काले बताउनु भयो । अहिले सेवा दिईरहेको भवनमा  १४ वटा कोठा छन एउटै कोठामा २÷३ वटा कार्यलय समेत रहेका छन । आफुहरुलाई २६÷२७ वटा कोठाको आवश्यकता रहन्छ अहिले कोठाको अभावमा बाध्यताले एउटै कोठामा वटा कार्यलय राखेर सेवा दिई रहेका छौं । नगर प्रमुख खड्काले बताउनु भयो । उहाका अनुसार अलपत्र रहेको भवनमा पनि १२ कोठा मात्र बन्ने भएका कारण पनि अर्काे भवनको निर्माण गर्नु पर्ने अवस्था आएको र सोही अनुसार भवन निर्माणका लागि ठेक्का लगाएको नगर प्रमुख खड्काले बताउनु भयो ।
नगरपालिकाको भवन निर्माणको लागि स्थानिय स्वा.राम बहादुर श्रेष्ठले ५ कठ्ठा जग्गा २० फिटको बाटो काटेर दान गर्नु भएको थियो । आफुहरुले निःशुल्क जग्गा दान गर्दा पनि नगरपालिकाको भवन निर्माण हुन नसक्नु आफुहरुका लागि दुःखको कुरा भएको भन्दै भवन निर्माण कार्य अलपत्र पार्ने ठेकेदार कम्पनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा डेलिगेसन जाने तयारी गरेको स्थानियबासीले बताएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech