संघिय सरकारबाट मधेशलाई बजेट कम आएको कांग्रेस नेतृ आरजुको स्वीकार

गणेश खड्का    प्रकाशित: २०८०-४-९ गते   ६८२ पटक हेरिएको

मधेश प्रदेशका लागि सङ्घीय सरकारबाट प्राप्त बजेट कम भएको र आगामी वर्षदेखि बजेट बढाउन पहल गर्ने नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम सांसद आरजु राणा(देउवा)ले बताईन् । सर्लाहीको क्षेत्र नम्बर ४ स्थित धनकौल गाउँपालिका २, धनकौल बजारमा आयोजित कांग्रेसका नेता कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेतृ आरजुले यस्तो बताएकी हुन ।
उनले कांग्रेस आफ्नै कारणले चुनाव हार्ने गरेको भन्दै अरु कुनै पार्टीलाई दोष दिन नमिल्ने बताईन् ।“३६४ दिनसम्म कांग्रेस हुने तर मतदानको एक दिन कम्युनिष्ट तथा अन्य पार्टीमा लाग्नेहरुका कारण हामीले चुनाव हार्ने गरेका छौँ,”उनले भनिन्“हामी हाम्रै कारणले चुनाव हार्छौं, हामीलाई कसैले हराउनै पर्दैन् ।”
कांग्रेसले राम्रो उम्मेदवार उठाउँदा–उठाउँदै आफ्नै कारणले सर्लाही क्षेत्र नम्बर ४ मा चुनाव हार्नुपरेको उनले बताईन् ।सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति नागेन्द्र रायलाई कांग्रेसकै बागी उम्मेदवार डा.अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारको नाममा पराजित गरेका थिए ।
उनले भारतबाट एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने भन्ने सरकारले भर्खरै गरेको निर्णय व्यवहारिक नभएको बताईन् । “यो निर्णय व्यवहारिक हिसाबले ठीक छैन्,सत्तारुढ दलको सांसद भएको हैसियतले यस्तो अव्यवहारिक निर्णय भएकोमा म यहाँहरुसँग क्षमा नै माग्छु,”सांसद आरजुले भनिन् । साथै उनले“यो निर्णय तुरुन्त सच्याउन आवश्यक छ,त्यसका र त्यसका लागि आफु पनि पहल गर्ने”बताईन् ।
कार्यक्रममा कांग्रेसका अर्का केन्द्रिय सदस्य रामहरी खतिवडाले ६० वर्षसम्म पनि मधेश कांग्रेसको गढकै रुपमा रहेको दाबी गरे । उनले यदि कांग्रेसभित्र अन्तर्घात नभएको भए सर्लाहीका १२ वटा पालिकामा मात्रै नभई २० मा २० वटै पालिकामा कांग्रेसले चुनाव जित्ने अवस्था रहेको उनको भनाई छ ।
कांग्रेस सर्लाही क्षेत्र नं. ४ का क्षेत्रीय सभापति तथा धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहको अध्यक्षतामा आयोजित भेलालाई कांग्रेस मधेश प्रदेशका सभापति तथा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णा यादव,मधेश प्रदेशका उपसभापति तथा स्वास्थ्य मन्त्री वीरेन्द्रप्रसाद सिंह,प्रदेश सभा सदस्य जङ्गीलाल राय,सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह,पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ र नागेन्द्र राय लगायतले कार्यक्रममा आफ्ना भनाईहरु राखेका थिए । नेतृ आरजुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापन इतर पक्षका नेता जङ्गिलाल रायबाहेक अन्यको अनुपस्थिति रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech