सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन बागमती माछा पोखरी(भरत ताल) निर्माण कै चरणमा आन्तरिक आय स्रोत र स्थानीयलाई रोजगारी सृजना गर्ने केन्द्र बनेको छ । दक्षिण यसिया कै सबै भन्दा ठुलो मानव निर्मित बागमती माछा पोरी(भरत ताल)ले निर्माण कै चरणमा बागमती नगरपालिकालाई बार्षिक करिब एक करोड आन्तरिक आयस्रोत दिएको छ भने करिब साथ सय जना स्थानीय बेरोजगार युवाहरुले रोजगारी पाएका बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए ।
उनका अनुसार २०७६ सालबाट बागमती नगरपालिका ४ र १२ मा एक सय २१ बिघामा निर्माण सुरु भएको बागमती माछा पोखरी(भरत ताल) निर्माण कै क्रममा आन्तरीक तथा बाह्य पर्यटकहरुको रोजाईको केन्द्र बनेको छ भने आन्तरिक आयस्रोतको राम्रो सम्भावना बोकेको स्थलको रुपमा रहेको छ ।
सुरुमा माछापालनका लागि पोखरी निर्माण सुरु गरिएको भएपनि पर्यटकिय तालकै रूपमा विकास गर्ने र आन्तरिक आयस्रोत तथा स्थानीय वेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्न सक्ने सम्भावना देखेपछि तालको रुपमा विकास गर्न सुरु गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् । उनका अनुसार माछा पोखरी खन्ने क्रममा नगरको आन्तरीक आयस्रोत पनि बढ्ने र स्थानीय बेरोजगार युवाहरुलाई रोजगारी पनि सृजना गर्न सकिने भन्दै ताल नै निर्माण गर्न थालिको हो ।
बागमती माछा पोखरी(भरत ताल) निर्माण कै क्रममा तालमा बोटिङ गर्न पिकनिक मनाउनका लागि दैनिक हजारौं पर्यटक आउने गरेका साथै नगरपालिकालाई वार्षिक करिब र एक करोड आन्तरिक आयस्रोत हुन थालेको साथै करिब सात सय जना स्थानीय वेरोजगार युवाहरुलाई रोजगारी सृजना गरेको नगर उप प्रमुख मोक्तानले बताइन् ।
बागमती नदीको किनार र खेर गई रहेको बाँझो जमिनमा २०७६ सालबाट पोखरी खन्ने काम सुरु गरिएको भएपनि पछि बागमती माछा पोखरी(भरत ताल) निर्माण गर्ने सोच बनेपछि सोही अनुसार अगाडि बढेको र अहिले बागमती माछा पोखरी(भरत ताल) निर्माण कै क्रममा नगरपालिकालाई आन्तरीक आयस्रोत जुट्न थालेको प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेलले बताए ।
उनका अनुसार बागमती माछा पोखरी(भरत ताल) निर्माण कै क्रममा स्वदेशी तथा विदेशी पर्यटकहरुको पहिलो रोजाइ बनेको छ । बोटिङ गर्न,पिकनिक मनाउन र रमाइलो गर्नका लागि मधेश प्रदेश आउने स्वदेशी तथा विदेशी पर्यटकहरु भरत तालमा नपुगी नफर्किने गरेका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।
पोखरी बनाउँदै जादाँ पछि तालमा परिणत गरिएको र ताललाई आकर्षण बढाउन फुटपाथ ,ताल वरिपरि फुलहरुको बगैँचाका साथै तालको तल्लो भु भागमा फलफुलहरुको नगर बगैँचा समेत निर्माण गर्ने काम भई रहेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले बताए ।
उनका अनुसार संघीय सरकार,प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माणाधिन अवस्थामा रहेको तालमा पर्यटकलाई सेवासुविधा दिनका लागि बोटिङ,वरिपरि नगर बगैँचा र सुविधासम्पन्न होटल निर्माणको काम भई रहेको छ । पर्यटकलाई सेवासुविधा दिनका लागि तालकै बीचमा सुविधा सम्पन्न होटल निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।
चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेस प्रदेशकै पहिचानको रूपमा स्थापित भएको छ । प्रकृतिको काखमा अवस्थित मानव निर्मित ताल झट्ट हेर्दा समुद्रको अनुभूति दिलाउने गरेको तालमा बोटिङ गर्न काठमाण्डौँबाट आएका आन्तरीक पर्यटक यतिराज अधिकारीले बताए ।“तालको वरिपरि रहेको बगैँचाले पर्यटकहरूको मन झनै लोभ्याउने रहेछ । भरत तालमा बोटिङ गरेपछि फेवातालको झल्को मेटियो”उनले भने ।
“बिदाको दिन पिकनिक मनाउन आउने पर्यटकहरूको घुइँचो लाग्दो रहेछ ।हावाको बेगसँगै छल्किने तालको पानी,नजिकैबाट देखिने हरियो चुरे पर्वत र तालको छेउ भएर निरन्तर कलकल गर्दै बगिरहेको बागमती नदीको पानीको आवाजले अझै पर्यटकलाई लोभ्याउने”ताल घुम्न आउनु भएकी निर्मला पहाडीले बताइन् । उनका अनुसार दिउँसो गर्मीले त्यति पर्यटक नआए पनि बिहान र बेलुका टिकटक बनाउने,फोटो खिच्नेहरूको ठूलो भीड लाग्दो रहेछ । मानवनिर्मित भएकाले पनि आफुलाई कहिले पुगिएला भरत ताल भन्ने लागेको बुटबलबाट आएका अर्का आन्तरीक पर्यटक शंकर लामिछानेले बताए । पूर्वपश्चिम राजमार्गबाट करिब तीन किलोमिटर दक्षिणमा रहेको ताल सामाजिक सञ्जालमा पनि चर्चामा छ । ताल पुग्नका लागि पूर्व पश्चिम राजमार्गबाट दुईवटा बाटा रहेका छन् । नगर प्रमुख थापाको नेतृत्वमा पोखरी बनाउने काम भएकाले स्थानीयवासी तथा आसपासबाट आउने पर्यटकहरूले भरत ताल भनेर नामकरण गरेका छन् ।
सामाजिक सञ्जालमा भरत ताल भनिएर प्रचारप्रसार हुनुको साथै ताल आसपासका कतिपय पसलहरूको नाम पनि भरत ताल नै राखिएको छ । जाने बाटोदेखि लिएर तालमा सञ्चालित बोटहरूमा समेत भरत ताल लेखिएपछि तालको नाम अझै प्रख्यात बनेको छ ।हजरीया,राजघाट र सोल्टीमा हिउँदको समयमा पिउने पानी हाहाकार हुने गरेको भएपनि ताल निर्माण सुरु भएर तालमा पानी भर्न थालेपछि हिउँदमा पनि कलमा राम्रोसंग पानी आएको स्थानीय सन्तोष गदालले बताए ।
त्यस्तै तालमा आउने पर्यटकहरुलाई आनन्दित पार्नका लागि तालमा अहिले २६ वटा इलेक्ट्रोनिक्स बोट रहेका छन् । तालमा भीएसएलको एउटा ठूलो बोट र २६ वटा स्ट्रिम बोट रहेका बागमती इन्टरटेन्मेन प्रा.लिले जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ बाट ताल बनाउन सुरु गरिएको भएपनि २०७८÷०७९ बाट तालमा बोटहरु सञ्चालनमा आउँदा ताल निर्माण कै चरणमा करिब रु एक करोड आन्तरीय आयस्रोत प्राप्त गरि सकेको नगरपालिकाले जनाएको छ ।