नेपालको राष्ट्रिय उत्पादन घटेर नेपाली नागरिकहरुलाई दैनिक जीवन निर्वाह गर्न निकै समस्या सृजना भएको नेकपा(एमाले)का सचिव एवम मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले बताए । उनले नेपाली नागरिकहरुको चूलोमा प्रयोग हुने हरेक सामानहरु आयात हुँदा निकै समस्या सृजना भएको बताए ।
नेकपा(एमाले) निकट नेपाल उद्योग तथा व्यावसायी महासंघ सर्लाहीको प्रथम जिल्ला अधिवेशन उद्धघाटन गर्न सर्लाही आएका एमाले सचिव एवम मधेश प्रदेश इन्चार्ज भट्टराईले खाद्यान्न,फलफुल तथा माछा मासुहरु लगायतका दैनिक उपभोग्य वस्तुहरुको आयात हुँदा नेपालको बार्षिक व्यापार घाटा भई रहेको बताए । उनले नेपालका लागि छिमेकी दुई ठुला व्यापारीक देशहरुले कुनै न कुनै रपमा हस्तक्षेप गरि रहेका समेत बताए ।
आयातित वस्तुहरुमा निर्भरता हुँदा देशको अर्थतन्त्रको गति खस्किदो अवस्थामा रहेको साथै प्रत्येक चिजमा विदेशी वस्तुहरुको भर पर्नु पर्दा देश निकै डरलाग्दो अवस्थामा रहेको उहाँले बताए । उद्योगी व्यावसायीहरुलाई सहज रुपमा काम गर्ने वातावरण सृजना नहुनु,व्यापार व्यावसाय सञ्चालन गर्न सहज रुपमा ऋण नपाउनु,नेपाली बजारमा उत्पादन भएका उत्पादीत वस्तुहरुको उचित बजार मुल्य नरहेको लगायतका कारण देशको अर्थ तन्त्रको अवस्था खस्किएको उनको भनाई छ ।
उनले न्युन योग्यताका मानिसहरु वैदेशिक रोजगारीमा जाँदा नेपालीहरु विदेशमा ठगिनु परेको साथै आउनु पर्ने रेमिट्यान्स जति आउनु पर्ने हो त्यो आउन नसकेको बताए । विदेशबाट आएको रेमिट्यान्स पनि सहि रुपमा खर्च हुन नसकेको सचिव एवम मधेश प्रदेश इन्चार्ज भट्टराईले बताए । नेपाली श्रमशक्तिलाई सहि सदुपयोग गर्न नसक्दा समस्या झन विकराल बन्दै गएको सचिव एवम मधेश प्रदेश इन्चार्ज भट्टराईको भनाई छ ।