सर्लाहीका आठ पालिकामा प्रमुख प्रशासकीय अधिकृत आए

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-४-२० गते   ६४३ पटक हेरिएको

सर्लाहीका आठवटा पालिकामा एकैसाथ नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु रहेका स्थानमा एकैसाथ आठ जना प्रमुख प्रशासकीय अधिकृतहरु पठाएको हो ।
जिल्लाको मलंगवा नगरपालिका,पर्सा गाउँपालिका, कौडेना गाउँपालिका,बरहथवा नगरपालिका धनकौल गाउँपालिका,बसबरिया गाउँपालिका,विष्णु गाउँपालिका र रामनगर गाउँपालिकामा यस अघि शिक्षा शाखा तथा प्राविधिक शाखाका कर्माचारीहरु प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका थिए । यी पालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैसाथ प्रमुख प्रशासकीय अधिकृत पठाएको जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ ।
२० पालिका रहेको सर्लाहीमा मलंगवा नगरपालिकामा खेमराज उपाध्याय,पर्सा गाउँपालिकामा भोजराज खतिवडा,कौडेना गाउँपालिकामा निरन्जन ज्ञवाली,बरहथबा नगरपालिकामा अनन्त कुमार बस्नेत,धनकौल गाउँपालिकामा गणेश गौतम,बसबरिया गाउँपालिकामा किरण चन्द्र सुवेदी,विष्णु गाउँपालिकामा रामराज गौतम र रामनगर गाउँपालिकामा नवीन अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर मन्त्रालयले पठाएको जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौसल किशोर सिंहले जानकारी दिए ।
मलंगवा नगरपालिकामा यसअघि शिक्षा तर्फका उपसचिव गेहनाथ गौतम प्रमुख प्रशासकीय अधिकृत र बरहथवा नगरपालिकामा शिक्षाकै मदनबहादुर थापा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका थिए । जिल्लामा आठ पालिकामा कृषि,स्वास्थ्य,शिक्षा,प्राविधिक लगायतका क्षेत्रका कर्मचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका थिए । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मधेश प्रदेशका स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शुन्यमा झार्ने अभियान अन्तर्गत जिल्लाका आठ पालिकामा एकैसाथ दरबन्दी अनुसार उपसचिव र अधिकृत स्तरका कर्मचारी पठाएका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech