सर्लाही र रौतहटको सिमाना भएर वग्ने बागमती नदीको जलसतह उच्च विन्दुमा पुगेको छ। काठमाडौँ उपत्यकालगायत देशभरका केही स्थानमा विगत २४ घण्टायता भारी वर्षा भएका कारण बागमती नदीको जल सतह उच्च विन्दुमा पुगेको हो ।
बागमती नदीको जल सतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकाले नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
त्यस्तै, बागमतीको पधेरादोभान कर्मैया (सर्लाही) जलमापन केन्द्रमा जलसतह खतराको तह पार गरेकाले सर्लाही र रौतहटका बागमती नदी तटीय क्षेत्रमा रहेका बस्तीहरुले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।
पछिल्लो ६ घण्टामा बागमती जलाधारको हरिहरपुगढी,मरिन कुशुनटार सिन्धुली र आसपास अति भारी वर्षा भएको छ र थप हुने देखिएको छ। कोखाजोर खोला,मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ।
सिन्धुली जिल्ला भएर बग्ने कमला नदी,रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनु हुनेहरूले बिहानसम्म सतर्कता अपनाउन भनिएको छ।
मंगलबार कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।मधेश,बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।