धर्म,संस्कृति र विकृति विसंगतिहरुका कुरा

750 Shares

संविधानतःदेशलाई धर्म निरपेक्षमा राखेसंगै निरपेक्ष र सापेक्षको बारेमा विभिन्न समयमा बहस,चर्चा परिचर्चा हुदै आएको छ ।सैद्धान्तिकरुपमा राष्ट्र धर्म निरपेक्ष नै हुन्छ राज्यले देश भित्र मानीने सवै धर्म संस्कृति प्रति समान व्यवहार गरिनुपर्छ यो नै उच्चतम विचार र आर्दश हो ।तर धर्म निरपेक्षको नाममा धर्मको आवरणमा साम्राज्यवादीहरुको हालीमुहाली बढन दिनु भनेको आफ्नो टाउकोमा आफैले आगो लगाउनु सरह हो ।
यस पंक्तिकारलाई धर्म सस्कृतिको बारेमा धेरै ज्ञान नभए पनि हिन्दु धर्म संस्कृतिमा देखिएका केही विकृति विसंगति र अपव्याख्याहरुको सामान्य चर्चा र विश्लेषण गरी सार्थक वहसको थालनीको लागि यो आलेख तयार पारिएको छ ।
आजभन्दा करिब चार÷पाँच सय वर्ष अगाडि धर्म र जीवनशैलीको बिचमा खासै फरक थिएन जीवनशैली धर्म एक आर्काको परिपुरकको रुपमा थियो ।प्रष्टसंग भन्नु पर्दा धर्म नै संस्कृति र संस्कृति नै धर्म थियो भन्दा फरक पर्दैन्थ्यो ।मानव सभ्यताको विकास संगसगै जीवनशैली र धर्म संस्कृति एक आर्कावाट अलग हुन थाल्यो अझ भनौ कथित धर्म,संस्कृतिका ठेकेदारको रुपमा रहेका कर्मकाण्डी ब्रम्हण पुरेत (पुरोहित हुन त पुरै (सवैको) हित गर्नुपर्ने हो) आफ्नो मात्र हित सोच्ने र गर्नेहरुलाई मात्र पुरेत भनिएको हो सवैलाई होइन) हाम्रो सनातन धर्म,संस्कृतिको अपव्याख्या गर्ने (आफू अनूकुलको व्याख्या) विश्लेषण गरी सनातन हिन्दु धर्म प्रति आँच आउने क्रियाकलापहरु संचालन गरेर धर्म संस्कृतिको रक्षाको नाममा धर्म संस्कृतिको जरो काट्ने काम गरिरहेका छन । 
ब्रम्हणको छोरो नपढे पनि ब्रम्हण भन्ने कथित विश्लेषण गरेर कर्मकाण्ड संगसगै अंहकारवादी जातिवादको विजारोपण गरे ।गितामा लेखिएको छ जन्मनाःजायते शुद्र व्रम्हाःज्ञानत व्राम्हणः(जन्मले सवै शुद्र नै हुन जसले व्रह्म (संसार)को ज्ञान प्राप्त गर्छ उही ब्रम्हण हो) भनिएको छ । गितालाई सनातन हिन्दु धर्माम्वलीहरुले मूल ग्रन्थको रुपमा स्विकार गर्दै आएका छन ।तर गिता जस्तो पवित्र ग्रन्थमा लेखिएको शास्वत सत्य तथ्यलाई वंगाएर कथित बाहुनको छोरो बाहुन ?क्षेत्रीको छोरो क्षेत्री ?वैश्यको छोरो वैश्य ?शुद्रको छोरो शुद्र ? भन्ने परम्पराको श्रृजना गराएर सिंगो जगतलाई भ्रममा पार्न सफल भएका धार्मीक माफियाहरुका कारण सनातन हिन्दु धर्म संस्कृतिप्रति समयक्रमसंगै आस्था घटदै गइरहेको परिप्रक्ष्येमा इसाईहरुले साम,दाम,दण्ड र भेद प्रयोग गरेर हिन्दु धर्मप्रति आक्रमण गरिरहेको सवैको सामु विदितै छ ।
हाम्रा पौराणिक ग्रन्थहरु हेर्दा पढ्दा वैदिककालमा दासीको छोरा पनी ऋषिमुनी भएको,ऋषिको छोरा पनी दैत्य भएको दृष्टान्तहरु पढ्न,सुन्न पाइन्छ आधुनिक यूगमा पनी काले राई डा.स्वामी प्रपन्नचार्य भएको सवैको सामु छर्लेङ्गै छ । सामन्यतया हाम्रो संस्कृतिले गरेको जातिय विभाजनलाई यसरी व्याख्या गर्न सकिन्छ ।
ब्रम्हण–ब्रम्हण्ड (संसार तिन लोक स्वर्ग,मत्र्य,पातल र चौध भुवनको)को जानकारी राख्ने वा ज्ञान भएको प्राप्त गरेको मानीसलाई दिइने उपाधी हो ।पल्लो गाउँ जाने वाटो नदेखेका तिमाल पारी कुन गाउँ र हिमालपारी कुन देश छ भनेर थाहा नपाउनेलाई कथित ब्रम्हणको छोरो भएको नाममा ब्रम्हण भनिएको होइन जन्मको आधारमा होइन कर्मको आधारमा उपाधी पाउने हो।जन्मकै आधारमा उपाधी दिने हो भने प्रधानमन्त्रीको छोरालाई प्रधानमन्त्री,डाक्टरको छोरोलाई डाक्टर मास्टरको छोरोलाई नपढेपनी मास्टर भनेजस्तो हो ।आर्को सवैभन्दा दुःख लाग्दो कुरा ब्रम्हण जातीले सजातिय भित्र पनि यो जैशी यो खत्री भनेर उपजातमा विभाजन गरी आफ्नै दाजुभाइलाई अछुतको व्याहार गरी कर्मकाण्डलाई गरिखाने मेलो बनाएर आफ्नो साम्राज्य कायम गराउन नानाँभातिका चलनप्रचलन चलाएको कारण पनि जातिय द्वन्द्व र धर्मप्रति अनास्था संगसंगै बढदै गएको हो ।
क्षेत्री–भनिन्छ क्षेत्र (भूगोल देश) को रक्षा गर्नेहरुलाई दिइने उपाधि क्षेत्री हो आफ्नै बारीको सिमाना रक्षा गर्न नसक्नेले आफूलाई क्षेत्री भन्नु कतिको शोभानिय हो त्यो पनि विचारनीय छ ?क्षेत्रीको काम शासन गर्नु हो भनिन्छ तर सदैव शासित हुनेहरुलाई कसरी क्षेत्री भन्ने ?क्षेत्रीको कोखबाट जन्म लिने बित्तिकै क्षेत्री हुने होइन ।
बैश्य–बाणिज्यको कारोवार गर्ने (व्यापार )गर्नेलाई वैश्यको उपाधी दिइएको हो ।अहिले सवैजसो जातिले वाणिज्यको कारोवार (व्यापार) गर्छन सवै वैश्य भएका छन ? बैश्य जाति भनिएकाहरु बणिज्यको कारोवार नगर्ने पनी छन ।बैश्यको कोखबाट जन्मेनी बित्तिकै बैश्य भन्ने हुने होइन ।
शुद्र–सिपका काम गरी सवैलाई सगाउनेहरुलाई दिइएको उपाधि शुद्र हो । अथाह सिपका खानी रहेको यो समुदाय हाम्रो समाजको आविस्कारक (वैज्ञानिक),इन्जीनियर,कलाकार हुन ।तर कथित धर्म संस्कृतिका ठेकेदारहरुले सिप चाहिँ चोखो ?जात चाहिँ जुठो वनाइदिएको कारण यो समुदायको सनातन हिन्दु धर्म सस्कृतिप्रति दिनानुदिन आस्था कम हुदै जान थालेको छ ।कुनै जात विशेष ब्रम्हण,क्षेत्री,बैश्य र शुद्रको पहिचान गरिएको होईन् । चार जात ३६ वर्ण भनेको अण्डज(फुलबाट उत्पादन हुने),उद्बिज(रोपेर उम्राने),जरायोज(काटेर सर्ने),स्वदेज(आफ्नो शरिरको पसिनाबाट उत्पादन हुने) भन्ने हो ।भने ३६ वर्ण भनेको  क देखि ज्ञ सम्म भन्ने हो । वर्ण भनेको अक्षर हो भन्ने धर्मशास्त्रहरुमा उल्लेख छ ।
केही विकृति विसंगतिहरु
१.छुवाछुतको कुरा ः
सारा प्राणीको हित गर्ने मानव सभ्यताको विकास गर्ने हाम्रो सनातन धर्म सस्कृतिलाई पछिल्लो समयमा आएर जात उपजातको नाममा मानव माथि मानवले छुवाछुतको व्यवहार गर्नु अत्यान्तै निकृष्ट व्यवाहार हो ।वेद उपनिषद लगायतका धर्म ग्रन्थहरुमा छुवाछुतको व्यवस्था छैन । गाई,नाग,काग र कुकुरको पुजा गर्ने हाम्रो विराट संस्कृति हो ।मान्छे माथि छुवाछुतको व्यवहार गर्ने त अल्पज्ञानी धार्मीक माफियाहरुको सामन्ती संस्कृतिलाई बाचाई कुण्ठीत मनोकांन्छा पूरा गर्ने प्रपन्च मात्र हो । के जात साच्चै छ त ? जात त पशुहरुमा मात्र छ भैसी र गोरुको समगमबाट पाडा पाडी जन्मदैन पाडा पाडी जन्मन भैसी र राँगाको समगम हुन जरुरी छ । गाई र राँगाको समगमबाट बाच्छा बाच्छी जन्मदैन गाइ र गोरुको समगम हुन जरुरी छ बाख्रा र कुकुरको समगमबाट पाठापाठी जन्मदैन पन्छीमा पनी कुखरको भाले र परेवाको पोथिको समगमबाट चल्ला निस्कीदैन तर कथित ब्रम्हणकी छोरी कथित शुद्र (दलित)को छोराले विहे गरेमा सन्तान जन्मन्छ । पशु,पन्छीको जात प्रकृतिक निर्मित हो मानवको जात मानव निर्मित हो ।प्रकृति निर्मित संरचना बुझ्न सकिन्छ मानव निर्मित संरचना फेर्न सकिन्छ ?कथित जातको नाममा मानवले मानव माथि छुवाछुत गर्ने कुरा अत्यान्तै निन्दनीय हो ।
२.व्रतको कुरा
धर्म मान्नु भनेको धर्म अनुसारको आचरण गर्नु हो ।धर्म भनेको धारण गर्ने कुरा हो ।धर्म दुनियाँलाई देखाउनको लागि ठाडो तेस्रो चन्दन लगाउने पहेलो बस्त्र लगाउने यज्ञ पुजा पाठ ब्रत तिर्थ गर्ने कुरा होइन ति त धर्म सस्कृति अन्तर्गतका क्रियाकलापहरु हुन ।अहिलेको चलन चल्तीको ब्रतको बिश्लेषण गर्ने हो भने भोली एकादशीको ब्रत छ खानेकुरा पनि केही छैन फलफूल ल्याउनु प¥यो दुध ल्याउनु प¥यो भनेर साविक खाने भन्दा ज्यादा कुराको जोहो गर्ने गरेको कुरा नेपाली समाजमा बस्ने सवैले जानेमानेकै कुरा हो ।खासमा ब्रत (उपवास)वस्नु भनेको ध्यान भक्तिमा लिन हुनु हो भक्तिमा बसेपछि खानपिनको वास्ता नै नहोस चित्त शुद्ध र दृढ हुनु हो ।अहिलेको चलन चल्तीका ब्रतालु तिर्थालुहरुको ध्यान १२ घण्टाको ब्रतमा २४ पटक जति खानाको कुरा याद हुन्छ र ब्रत बस्ने नाउमा मिठो मसिनो फलफूल खाने मेलो माात्र भएको त होइन प्रश्न जटिल छ तर उत्तर सहजरुपमा धर्म विरोधि रहेछ भनेर सजिलै भन्दियो सकियो ।
३.भाकलको कुरा
हाम्रो हिन्दु धर्मले परिकल्पना गरे अनुसार तेतिस कोटी देवि देउता छन भन्ने मान्यता छ ।शायद तेतिखेर देवगणाना गर्ने चलन रहेछ क्यारे अहिलेका जनगणना जस्तै ।अहिले देवस्थल तिर्थस्थलमा दुइखाले माग्नेहरुको भिड हुन्छन ।गरिव र साना साना माग्नेहरु बाहिर थाल थापेर हात थापेर माग्छन आना–सुकी मानो–मूठी पाउँछन भित्र धनी र ठूला माग्नेहरु निर्जिव मूर्तिसंग रोइकराई धनदौलत शिक्षा स्वास्थ्य रोजगार विदेश यात्रा सहितको माग राख्छन कुख्रे,बाख्रे,बोके त्रिशुले घुस दिने आश्वासन सहित सानो ठूलो स्वरमा माग्छन ।संयोगले माग पूरा भए भने फेरी उत्सव मनाउछन निर्देाष पशुको हत्या गर्छन ।मान्छे हाकिमलाई मात्र होइन देउतालाई पनि घुस ख्वाउछन अझ भनौ देउतालाई कामदार पनि बनाउछन ।मैले बुझ्न नसकेको कुरा यो सारा जगत इश्वरको सृष्टी हो भने मान्छे जेठो सन्तान भए बोका कुखरा राँगा परेवा पनि इश्वरकै सन्तान होलान ?जेठो सन्तानले अन्तरे जन्तरे वा कान्छो संन्तानको शिर छेदन गरी आमा–बाउमा चढाउदाँ खुशी होलान त ?धेरै सन्तान जन्माएका बाउआमालाई सोधेर हेरौ त ?प्रथा परम्पारा कसैको लहडमा बनाएको र बानाइएको त होइन तर प्रथा परम्परा भनेर सधै अन्धभक्त अन्ध विरोधले पनी सही ठाउँमा पु¥याउदैन की ?
४.संस्कारका कुरा
हिन्दु धर्म संस्कृतिले मानवका संस्कारलाई सोह« संस्कारको रुपमा विकास गरेको छ गर्भाधान कर्म देखि अन्त्यष्टी सम्म।सोह« संस्कार मान्ने वा पालना गर्ने हिन्दु शायदै कोही होला ?प्रायः अहिले नामाकरण ब्रतबन्ध विवाहा र अन्त्यष्टी यि ४ वटा संस्कार विधि पुराउनको लागि मानेको जस्तो मात्र गर्छन अरु १२ संस्कार त उहिले छोडिसकेका छन्।हाम्रो हिन्दु धर्म अत्यन्तै सजिलो छ १६ संस्कार माने पनि हिन्दु नमाने पनि हिन्दु?वेद पढे पनि हिन्दु?वेद नपढे हिन्दु?जनै लाए पनि हिन्दु?जाँड खाने पनि हिन्दु?नखाने पनि हिन्दु?छुवाछुत गर्ने पनि हिन्दु?अछुतको पिडा सहनुपर्ने पनि हिन्दु ?विचार गर्नुस त हामी कती संस्कारी छौ ?यक्ष प्रश्न हामी सवैको अगाडी तेर्सिएको छ ।
उपरोक्त विकृति विसंगतिहरुका बावजुद सनातन हिन्दु धर्म संस्कृति पूर्विय दर्शन मानव सभ्यताको अमूल्य निधि हो यसको रक्षा र विकासबाट नै मानव समाजको थप विकास संभव छ यसको लागि हिन्दु धर्माम्वलीहरु र विशेष गरी पुरोहितहरुको अगुवाइमा निम्न बमोजिमका कार्यहरु अबिलम्ब सञ्चालन गरिनुपर्छ ।
१.छुवाछुत र जातिय उपजातिय विभेद अन्तका लागि अभियान संचालन गरिनुपर्छ ।
२.वैदिक शिक्षामा सवैको पहुँच पु¥याउनु पर्छ ।
३.महायज्ञ,पुराणहरु लगाउदाँ वैज्ञानीक विवेचना सहित हिन्दु धर्ममा विभेद नभएको कुरा प्रष्टसंग सवैले बुझ्ने गरी प्रवचन दिने ।
४.धर्म,संस्कृतिलाई जीवन पद्धतिमा ढाल्ने (धर्मलाई कर्ममा र कर्मलाई धर्ममा) रुपान्तरण गर्ने ।
५.धर्मलाई गरिखाने भाँडो नवनाउने मानव कल्याणको साधन बनाउने ।
६.धर्मग्रन्थहरुमा भएका विरोधाभाषहरुलाई समन्वय गर्ने समय सापेक्षिक व्याख्या विश्लेषण गर्ने ।
७.भजन किर्तनमा रासलिला मात्र नगाउने ज्ञानका दृष्टान्तहरु पनी समावेश गर्ने ।
८.पुरोहितहरुको अगुगाईमा सहभोजको आयोजना गर्ने ।
९.हिन्दु धर्मले विकास गरेको १६ संस्कारको बारेमा अभिमूखिकरण गर्ने ।
१०.यज्ञ,महायज्ञलाई व्यवसाय नवनाउने ।
११.योगा,व्यायम,प्रणायम ध्यान र ज्ञानको अन्तरसम्बन्धको बारेमा अभिमूखिकरण गर्ने ।
१२.ज्ञानयोग,कर्मयोग,भक्तियोग बारेमा अभिमूखिकरण गर्ने ।

नेपाललाई लामो समय देखि शक्तिकेन्द्रहरुले विभिन्न विषयको प्रयोगशाला बनाउदै आइरहेका छन पछिल्लो समयमा धर्मको नाममा चलखेल बढेको छ ।यो कदापी राम्रो संकेत होइन मानव सभ्यता सँगसंगै धर्म संस्कृतिको विकास र विस्तार हुनु र आफूलाई मन परेको धर्म मान्न पाउनु त स्वभाविक नै हो तर मिशनकै रुपमा भइरहेको धर्म प्रचारले निकट भविष्यमा धर्म युद्ध ननिम्त्याउला भन्न सकिन्न बेलैमा सम्बन्धित सवैको ध्यान जरुरी छ । बेला छदै ध्यान पुराउन सके मात्र हाम्रो राष्ट्र,धर्म संस्कृतिको रक्षा गर्न सक्छौं अन्यथा पछुताउनु बाहेक हामीसँग अन्य विकल्प नरहला ।
लेखक कृष्ण गौतम–लालबन्दी नगरपालिका १६ परवानीपुर,सर्लाही

सम्बन्धित समाचार