प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-४ गते   ६९१ पटक हेरिएको

सर्लाहीको मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ ।नामथर वतन खुल्न नसकेकी अन्दाजी ४५÷४६ वर्षिय एक महिलाको उपचारको क्रममा आईतबार राती करिब ८ बजे प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
आईतबार बिहान करिब ९ बजे लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सत्यलोक आयुर्वेदिक क्लिनिक प्रा.लि.मा उपचारको लागि आएकी महिला अस्पतालको शौचालयमा दिउँसो करिब १ ः ५५ बजे अचेत अवस्थामा भेटिएपछि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको क्लिनिकका सञ्चालक देवेन्द्र झाले बताए । आफ्नो क्लिनिकमा उनी बिहान ९ बजे नै आएकी तर आफुहरुसंग उनको कुनै तथ्यांक नरहेको र उपचार नगरेको झाले बताए ।
तर बिहान ९ बजे क्लिनिकमा आएकी महिला दिउँसो करिब १ः५५ बजे क्लिनिककै शौचालयमा अचेत अवस्थामा भेटिनु,९ बजेदेखि १ः५५ बजे सम्म निजी क्लिनिकमा आएकी महिलाको नाम समेत दर्ता नभएको क्लिनिक सञ्चालकले बताउनु लगायतका कारण पनि शंकास्पद रहेका छन् ।
प्रादेशिक अस्पताल मलंगवमा उपचारको क्रममा मृत्यु भएकी महिलाको पोष्टमार्टको तयारी भई रहेको र उनको विवरण खुलाउने काम समेत भई रहेको साथै घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech