बरहथवाका दुई वडाका एक सय ६९ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-८ गते   ४१५ पटक हेरिएको


सर्लाहीको बरहथवा नगरपालिकाका दुई वडाका एक सय ६९ परिवारलाई गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । बरहथवा नगरपालिका ११ र १२ का एक सय ६९ परिवारलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरले जानकारी दिए ।
उनका अनुसार २०२२ सालदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आइरहेका साबिक लौकठ गा.वि.स. हाल बरहथवा नगरपालिका ११ र १२ का स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल,नापी कार्यालय मलंगवाका प्रमुख मानन्धर,बरहथवा नगरपालिका ११ र १२ का वडाध्यक्षहरु लगायतको उपस्थितिमा गाउँ ब्लक जग्गामा बसोवास गरिरहेका एक सय ६९ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको नापी कार्यालय मलंगवाले जनाएको छ।
गाउँ ब्लक जग्गामा बसोवास गरिरहेका परिवारले वर्षौपछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्दा खुसी व्यक्त गरेका छन् ।२०७० सालमै जग्गा नापजाँच भएपनि विभिन्न कारणले पुर्जा वितरणमा ढिलाई हुँदै आएकोमा शुक्रबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कटुवालले जानकारी दिइन् ।
सम्पूर्ण प्राविधिक काम सकेर एक सय ६९ परिवारलाई पाँच बिघा ११ कठ्ठा आठ धुर जग्गाको लालपुर्जा तयार पारेर वितरण गरिएको नापी कार्यालय मलंगवाका प्रमुख मानन्धरले बताए । उनका अनुसार थप १० परिवारलाई पनि चाँडै जग्गाधनी प्रमाण पुर्जा तयार पारेर वितरण गरिने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech