सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत विच सवारी चालक फेर बदलको विषयमा विवाद सृजना भएको पाइएको छ।नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईबीचको विवादको मुख्य जरो नै नगरपालिकामा कार्यरत रहेका एकजना चालकको फेरबदलको विषय रहेको रहस्य खुलेको हो ।
नगर प्रमुख पोखरेल अल्पमतमा रहेका र गत साउनमा आफ्नो चालक फेरवदल गरी अर्काे चालक ल्याउने विषयमा टिप्पणी समेत उठि सकेको भएपनि प्रमुख प्रशासकी अधिकृत भट्टराईले सो कुरा नमानेपछि नगर प्रमुख पोखरेलले सामान्य गालि गलौज गरेपछि विवाद सृजना भएको पाइएको हो ।
उदयपुरको कटारी नगरपालिका बाट प्रमुख प्रशासकीय अधिकृत भट्टराई कमलमाई नगरपालिकामा सरुवा भई आउँने क्रममै नगर प्रमुख पोखरेलले रोक्न खोजेका भएपनि नगरकार्यपालिकामा अल्पमतमा रहेका नगर प्रमुख पोखरेलले राजनीतिक दवावका कारण प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई रोक्न नसकी हाजिर भएका र नगर प्रमुख पोखरेल सुरु देखि नै प्रमुख प्रशासकीय अधिकृत भट्टराईसंग सन्तुष्ट नरहेका नगरपालिका स्रोतको दाबी छ ।नगर प्रमुख पोखरेलले चालकको विषयमा प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई कार्यकक्ष मै सामान्य गालि गरेपछि प्रमुख प्रशासकीय अधिकृत भट्टराई एक महिना भन्दा बढी समय बिदा बसेका थिए ।
“दशैँको मुखैमा आफ्नो आवशमा आएर तलबभक्ता निकासा गरी फर्किएका प्रमुख प्रशासकीय अधिकृत भट्टराई फेरी गएर बिहीबार नगरकार्यपालिकाको बैठकमा आएका थिए ।सो कुरा नगर प्रमुख पोखरेललाई जानकारी थिएन्।बैठक सुरु हुन लागेपछि प्रमुख प्रशासकीय अधिकृत भट्टराई बैठक कक्षमा प्रवेश गरेपछि नगर प्रमुख पोखरेल बैठकस्थलबाट बाहिरिएर बैठक स्थगीत गरेका” नगरपालिका स्रोतले जनाएको छ ।त्यस लगतै नगर प्रमुख पोखरेलले प्रमुख प्रशासकीय अधिकृत भट्टराईले अझै बिदा अन्त्य नगरेका कारण आधिकारिक रूपमा काममा फर्किएको मान्यता दिन नसकिने भएकाले बैठक तत्काल स्थगीत गरिएको पत्रकार सम्मेलन गरी बताएका थिए।
नगर प्रमुख पोखरेलले प्रमुख प्रशासकीय अधिकृत भट्टराई कार्यालयमा हाजिर नभएको र कार्यालयको काम प्रभावित भएको दाबी गरे।बिहीबार दिउँसोका लागि सारिएको कार्यापालिका बैठक शुक्रबार सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको नगरपालिकाका सूचना अधिकारी नवराज बरालले जानकारी दिए।
यता,प्रमुख प्रशासकीय अधिकृत भट्टराईले आफू कार्यालयमा नियमित रूपमा उपस्थित भएको र कार्यपालिका बैठकमा समेत सहभागी हुन तयार रहेको भएपनि नगर प्रमुख पोखरेलले अनावश्यक रूपमा तनाव सिर्जना गरेको आरोप लगाए ।स्रोतका अनुसार लामो समय प्रमुख प्रशासकीय अधिकृत भट्टराई बिदा बसेका कारण नगरपालिकाको नियमित काम काज प्रभावित हुनुका साथै उपभोक्ता समिति र योजनाका भुक्तानी रोकिएका र बजेट कार्यान्वयनमा ढिलाइ भएको प्रति नगर प्रमुख पोखरेल असन्तुष्ट देखिएका थिए।
राजनीतिक हिसाबले कल्पमतमा रहेका नगर प्रमुख पोखरेलले करारका कर्मचारीहरु हटाउने मनसाय राखेका भएपनि बहुमतमा रहेका अन्य जनप्रतिनिधिहरु र प्रमुख प्रशासकीय अधिकृत भट्टराईको मिलेमतोका कारण करारका कर्मचारीहरु हटाउने विषयमा अन्यौलमा परेको छ।१४ वटा वडा रहेको कमलामाई नगरपालिकामा नगर प्रमुख पोखरेल नेपाली कांग्रेसबाट निर्वाचित र अल्पमतमा छन् ।प्रशासनिक तटस्थता र राजनीतिक निर्णय बीचको सीमारेखा कमलामाई नगरपालिकामा मात्र नभई धेरै स्थानीय तहमा देखिने गरेको जानकार बताउँछन् ।