Close This

अवैध नदी दोहनको विरुद्धमा स्थानियबासीद्धारा लोकमार्ग अवरुद्ध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-२ गते   ६६५ पटक हेरिएको

पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत सर्लाहीको फूलजोरका स्थानीय बासिन्दाले गाउँ नजिकै भएको नदी दोहनको विरोध गरेका छन । विभिन्न निर्माण कम्पनीहरु तथा स्थानिय क्रसर व्यावसायीहरुले गाउँ नजिकैबाट नदी दोहन गरेको भन्दै अवैध उत्खनन रोक्न माग गर्दै मंगलबार पुर्व पश्चीम लोकमार्गमा केही समय चक्काजाम गरेका छन् ।


फूलजोर खोलामा मनपरी किसिमले भइरहेको अवैध उत्खननले गर्दा खोलाले धार परिवर्तन गरी फूलजोर बस्ती नै बाढीको जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले लोकमार्गमा चक्काजाम गरेका हुन् । लोकमार्ग र गाउँबस्ती नजिकै निकै गहिरो पारेर जथाभावी गिट्टी, बालुवा,ढुंगा निकाल्दा फूलजोर खोलाको धार गाउँतिर सोझिने चिन्ता बढेको भन्दै स्थानियबासीले सो कार्य रोक्न माग गर्दै लोकमार्ग अवरुद्ध गरेका हुन ।
बस्ती नै जोखिममा पार्ने गरी अवैध उत्खनन गर्ने सवारी साधन गाउँले आफैँले नियन्त्रणमा लिएर प्रहरीमा बुझाउँदा समेत बिना कारबाही छाडिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन बाध्य भएर लोकमार्गमा चक्काजाम गर्नु परेको उनिहरुले बताएका छन् । लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमा भएर बग्ने फूलजोर खोला प्रत्येक वर्ष पालैपालो ठेक्का लगाउने सहमति अनुसार यस वर्ष लालबन्दी नगरपालिकाले ठेक्का लगाएको थियो ।
लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काले सम्झौतामा उल्लेख भएको परिमाण अनुसार ठेकेदारले उत्खनन गरिसकेकाले अब थप उत्खनन गर्न नपाउने बताउनुभयो । उहाँले असार १ गतेदेखि उत्खनन कार्य बन्द भएको व्यहोराको पत्र ठेकेदार र ईलाका प्रहरी कार्यालय लालबन्दी र ईलाका प्रहरी कार्यालय ईश्वरपुरलाई पठाइ सकिएको जानकारी दिनुभएको छ ।


यस्तै, ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार देवकोटाले मापदण्ड विपरीत खोला उत्खनन गरेको पाइए ठेकेदारले नै जथाभावी खनेको खाल्डो पुर्नुपर्ने बताउनुभयो । उता खोलाको ठेक्का पाएको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि टीका गजुरेलले सम्झौता अनुसार जेठ मसान्तसम्म मात्रै उत्खनन गरेको र त्यसपछि खोलामा सवारी साधन नलगेको दाबी गर्नुभएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech